
पाँचगर । पाँचथरको फिदिम नगरपालिका–४ स्थित हेवा खोलामा पौडी खेल्न गएका एक बालक बेपत्ता भएका छन् ।
आइतबार दिउँसो करिब २ बजे स्थानीय बिन्दु योङहाङका ९ वर्षीय छोरा आरोप प्रधान, गंगाप्रसाद नेम्वाङका १० वर्षीय छोरा तान्छेहाङ नेम्वाङ र कुमार सार्कीका ९ वर्षीय छोरा पवन सार्की सँगै पौडी खेल्न गएका थिए । तीन जनामध्ये तान्छेहाङ र पवन घर फर्किए पनि आरोप घर नफर्किएपछि उनकी आमा बिन्दु योङहाङले राति ९ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय पाँचथरमा जानकारी गराएकी थिइन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ इन्स्पेक्टर दिनेश तिम्सिनाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल निरीक्षणका क्रममा बालकको चप्पल, कालो पिलपिले घडी, टी–सर्ट लगायत खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बलसँग समन्वय गरिएको छ । स्थानीयको सहयोगमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास जारी राखेको भए पनि यो समाचार तयार पार्दासम्म बालकको अवस्था अज्ञात रहेको छ ।

























