नेपाल एफएटीएफको खैरो सूचीमै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १३:१८

काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय निगरानी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण ‘ग्रे लिस्ट’ अर्थात् खैरो सूचीबाट तत्काल बाहिर ननिकाल्ने निर्णय गरेको छ । यससँगै नेपाल अझै पनि एफएटीएफको निगरानीमा रहने भएको हो ।

एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको प्रगति अपेक्षाअनुसार नभएको निष्कर्ष निकाल्दै खैरो सूचीमा निरन्तरता दिएको हो । सम्पत्ति शुद्धीकरण नियन्त्रण, अवैध वित्तीय कारोबारको अनुसन्धान, अभियोजन तथा आतंकवादी गतिविधिमा हुने लगानी रोकथामका क्षेत्रमा पर्याप्त सुधार देखिन नसकेपछि नेपाललाई सूचीबाट हटाउने निर्णय हुन नसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

नेपाल २०८१ फागुन ९ गते एफएटीएफको खैरो सूचीमा परेको थियो । त्यसबेला एसिया प्यासिफिक ग्रुप (एपीजी)ले गरेको मूल्यांकनमा नेपालका कानुनी, नियामक र कार्यान्वयन पक्षमा गम्भीर कमजोरी देखिएको निष्कर्ष निकालिएको थियो । एपीजीले तेस्रो चरणको पारस्परिक मूल्यांकनमार्फत सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय गतिविधि नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयनमा नेपालको अवस्था सन्तोषजनक नभएको औँल्याएको थियो ।

विशेषगरी अवैध स्रोतबाट आर्जित सम्पत्तिको पहिचान, अनुसन्धान तथा दोषीमाथि प्रभावकारी कारबाहीको अवस्था कमजोर रहेको, वित्तीय अपराधसँग सम्बन्धित मुद्दाहरूमा अभियोजन प्रभावकारी हुन नसकेको तथा विभिन्न निकायबीच समन्वय अपेक्षाअनुसार नभएको विषयलाई एफएटीएफ र एपीजीले बारम्बार उठाउँदै आएका छन् ।

नेपाल सरकार भने खैरो सूचीबाट बाहिर निस्कन आवश्यक सुधारका कामलाई तीव्रता दिने तयारीमा रहेको छ । एफएटीएफले दिएको कार्ययोजनाअनुसार नेपालले १५ वटा मुख्य कार्यसूचीमा काम गरिरहेको जनाएको छ । ती कार्यसूचीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुदृढ बनाउने, वित्तीय कारोबारमाथिको निगरानी प्रभावकारी बनाउने, जोखिममा आधारित नियमन प्रणालीलाई मजबुत पार्ने तथा अवैध आर्थिक गतिविधिविरुद्ध कानुनी तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयहरू समेटिएका छन् ।

सरकारले सन् २०२७ को फेब्रुअरीसम्ममा आवश्यक सुधार पूरा गरी नेपाललाई खैरो सूचीबाट बाहिर ल्याउने लक्ष्य लिएको छ । यसका लागि कानुन संशोधन, नियामक निकायहरूको क्षमता विस्तार तथा वित्तीय अपराध नियन्त्रणमा संलग्न निकायहरूबीच समन्वय बढाउने प्रयास भइरहेको बताइएको छ ।

एफएटीएफको खैरो सूचीमा रहँदा विदेशी लगानी, अन्तर्राष्ट्रिय वित्तीय कारोबार, वैदेशिक सहायता तथा बैंकिङ प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले नेपालमाथि सुधारका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने दबाब बढेको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा विश्वसनीयता कायम राख्न पनि नेपालले आगामी दिनहरुमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीय गतिविधि नियन्त्रणसम्बन्धी सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने चुनौती सामना गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन
सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे
विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.