
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–१ जोगीधापमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
एकराज बस्नेतको टिन र बाँसले बनेको भुइँतले कटेरो घरमा विगत ७–८ महिनादेखि काम गर्दै आएका धनकुटा नगरपालिका–६ निवासी करिब ७३ वर्षीय कुबिरबहादुर राय क्षेत्री मंगलबार बिहान करिब साढे ८ बजेतिर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरधनीले बिहान इलाका प्रहरी कार्यालय रंगेलीलाई घटनाको जानकारी गराएका थिए ।
प्रहरीका अनुसार सुतेकै कटेरोभित्र वृद्ध मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय रंगेलीका रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ ।



















