
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका लागि तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो ।
हिजो सोमबार बिहान ८:३० बजेबाट सुरु हुने भनिएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रको समय लम्बिने क्रम जारी छ ।
हिजोबाट सरेर आज दिउँसो १ बजेबाट सुरु हुने भनिए पनि आज पनि दिउँसो पछि सुरु गर्ने तयारी छ ।
प्राविधिक कारणले एक दिन ढिलाइ भएको भन्दै अब २ः०० बजेपछि मात्र सुरु हुने रास्वपा चितवनका सभापति मिनीमाधव खनालले जानकारी दिएका छन्।
केहीबेर अघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य सुरु भएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको बताइएको छ। कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्नुहुने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरिने कार्यतालिकामा उल्लेख छ।

























