
विराटनगर । पार्टी भित्रको आन्तरिक विवादका कारण नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को सभापतिको जिम्मेवारी खोसिएको छ । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै क्षेत्रीय सभापति देवराज तामाङको जिम्मेवारी खोसिएको हो ।
तामाङको जिम्मेवारी खोसरे पूर्वसांसद चुमनारायण तवदारलाई जिम्मेवारी दिएको छ । तामाङले पार्टी सदस्यता अद्यावधिक गर्न असहयोग गरिरहेका थिए । अद्यावधिकमा असहयोग गरेपछि केन्द्रीय नेतृत्वले जिम्मेवारी खोसेर तबदारलाई जिम्मेवारी दिएको हो । अब अद्यावधिकको काम नेता चुमनारायण तबदारले गर्नेछन् ।
वडा तहका क्रियाशील सदस्यहरूको सदस्यता अध्यावधि गर्ने प्रक्रियामा अवरोध पुर्याएको, पटक–पटकको निर्देशन बेवास्ता गरेको र स्वयं सभापतिले नै आफ्नो सदस्यता अध्यावधिक नगरेको कांग्रेसको आरोप छ । तामाङ डाक्टर शेखर कोइराला समूहका हुन् ।
यता, क्षेत्रीय सभापति देवराज तामाङले भने आफूलाई नहटाइएको दाबी गरेका छन् । उनले आफू निर्वाचित सभापति भएकोले कसैले हटाउन नसक्ने दाबी गरे। ‘म निर्वाचित सभापति हुँ, मलाई हटाएको कुनै आधिकारिक पत्र आएको छैन’ तामाङले भने,‘ बजारमा चल्ने हल्लाको पछि म लाग्दिन,सोमबार जिल्लाको बैठक बस्दा पनि त्यस्तो केही निर्णय भएको मलाई थाहा छैन ।’
नेपाली कांग्रेस विराटनगर सभापति दिपक चापागाईंले निर्वाचित पद कसैले खोस्न नसक्ने बताए । तर पार्टीले दिएको काम नगर्दा जिम्मेवारी हेरफेर हुनु स्वाभाविक भएको बताए ।
‘यो पद खोसेको विषय होइन, सदस्यता अध्यावधिक गर्ने जिम्मेवारी मात्र फेरिएको हो,’ चापागाईंले प्रष्ट पारे,‘ ६ नम्बर क्षेत्रले सदस्यता इन्ट्री नगरेका कारण पार्टीको काम अघि बढाउन नयाँ व्यवस्था गरिएको हो। अधिवेशनले चुनेको पद केन्द्र वा जिल्लाले सिधै हटाउन सक्दैन, तर निलम्बन वा जिम्मेवारी फेरबदल गर्न सक्छ ।’
नयाँ जिम्मेवारी पाएका नेता चुमनारायण तवदारले आधिकारिक जिम्मेवारी नआएको बताएका छन् । ‘मलाई सभापति बनाइएको आधिकारिक पत्र आएको छैन,’ उनले भने,‘सदस्यता अध्यावधिक गर्ने काम रोकिएकाले सो कार्य सम्पन्न गर्ने जिम्मेवारी मलाई दिन लागिएको भन्ने बुझेको छु। पत्र प्राप्त भएको छैन ।’

























