रास्वपामा मतदान ढिलाइ, प्रतिनिधि फर्किन थाले

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार १६:१०

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन व्यवस्थापकीय अव्यवस्थाका कारण प्रभावित बनेको छ ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिए पनि निर्वाचन प्रक्रिया निर्धारित तालिकाअनुसार अघि बढ्न सकेको छैन । बुधबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान दिउँसोसम्म पनि सुरु हुन नसक्दा महाधिवेशन प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् ।

Advertisement

निर्वाचन आयोगले केहीबेरअघि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको भए पनि अन्तिम नामावली प्रकाशन र मतदान प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन । आइतबारदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन करिब ४ हजार २ सय प्रतिनिधि चितवन पुगेका थिए ।

सभापतिसहित १ सय सदस्यीय केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेकोमा सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ९९ सदस्य चयनका लागि विद्युतीय मेसिनमार्फत मतदान गर्ने तयारीस्वरूप ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।

तर, उद्घाटनपछि निर्धारित कार्यतालिका प्रभावित हुँदा बन्दसत्रसमेत ढिलो गरी सञ्चालन भएको, प्रतिवेदनमाथि पर्याप्त छलफल नगरी पारित गरिएको तथा निर्वाचन प्रक्रिया अपेक्षित गतिमा अघि नबढेकाले प्रतिनिधिहरू निराश बनेका छन् । निर्वाचनमा ढिलाइ भएपछि केही प्रतिनिधिले निर्वाचन आयोगका पदाधिकारीसँग असन्तुष्टि जनाउँदै जवाफसमेत मागेका छन् ।

महाधिवेशन लम्बिँदै गएपछि केही नेता तथा प्रतिनिधिहरूले चितवन छाड्न थालेका छन् । रास्वपाका नेता कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीले व्यवस्थापकीय कमजोरीका कारण कार्यक्रम प्रभावित भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने बताएका छन् । प्रतिनिधिहरू फर्किन थालेपछि निर्वाचन कसरी सम्पन्न हुन्छ भन्ने प्रश्नमा नेता पराजुलीले यसका बारेमा आफूलाई जानकारी नभएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.