
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा जंगली च्याउ खाँदा तीन जना बिरामी परेका छन् ।
उर्लाबारी–१ की ५३ वर्षीया प्रेमकुमारी राईले आफ्नै बारीमा उम्रिएको खैरो रङको जंगली च्याउको तरकारी बनाएर खाएपछि बुधबार बिहान करिब १०ः३० बजेतिर उनीसहित ५९ वर्षीया अमाजू दिदी पुनम भुजेल र १४ वर्षीय नाति सिमोन राई बिरामी परेका हुन् । बिरामी परेकाहरूलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा भर्ना गरिएको छ ।
उपचाररत तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनाका बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

























