राहदानीमा अभावको जोखिम, एक महिनालाई मात्रै स्टक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार १७:१६

काठमाडौं । राहदानी विभागमा राहदानी (पासपोर्ट) को मौज्दात रित्तिँदै गएपछि सेवा ठप्प हुने जोखिम बढेको छ । विभागसँग अब बढीमा एक महिनाका लागि मात्र पुग्ने राहदानी बाँकी छ ।

पुरानो ठेकेदार कम्पनी ‘आईडिमिया’ले छापेका राहदानीमध्ये अब करिब ६० हजार थान मात्र मौज्दात छ । विभागका अनुसार हाल दैनिक ३ हजार देखि ३५ सय थान राहदानीको माग भइरहेको छ । यही अनुपातमा वितरण जारी रहे अहिलेको स्टकले एक महिना पनि धान्न मुस्किल पर्ने देखिएको छ ।

Advertisement

नयाँ राहदानी छपाइका लागि ठेक्का पाएका ‘म्युलबैर’ र ‘भेरिडोज’ कम्पनीले करिब २० दिनभित्र नयाँ खेप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । तर, गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कम्पनी र विभागका उच्च अधिकारीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेपछि आपूर्ति प्रक्रिया पूर्णतः अन्यौलमा परेको छ । विशेष अदालतमा दायर मुद्दामा ठेकेदार कम्पनीहरूले मिलेमतोमा ठेक्का हात पारेको र गुणस्तरहीन राहदानी पुस्तिका वितरण गर्ने योजना बनाएको आरोप लगाइएको छ ।

नेतृत्वविहीन विभाग

भ्रष्टाचार मुद्दाका कारण राहदानी विभागका महानिर्देशक र निर्देशक निलम्बनमा परेका छन् । नेतृत्व रिक्त हुँदा र कानुनी अड्चन देखिँदा विभागका अन्य कर्मचारी अन्याेलमा छन् ।  परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि राहदानीको मौज्दात र छपाइबारे आधिकारिक जानकारी दिन अस्वीकार गर्दै आएका छन् । मन्त्रालयका एक सहसचिवका अनुसार, वैकल्पिक व्यवस्था नभएमा केही हप्ताभित्रै राहदानी वितरणमा ठूलो संकट आउने निश्चित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.