
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले याे वर्ष मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुने अनुमान गरेकाे छ ।
प्राधिकरणको प्रारम्भिक प्रक्षेपणअनुसार मनसुनजन्य विपद्का कारण यस वर्ष करिब २ लाख २६ हजार नागरिक जोखिममा रहने छन् । प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार गत असार ७ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन केही कमजोर छ । यो प्रणाली देशभर सक्रिय हुन अझै केही दिन लाग्ने देखिएको छ ।
प्राधिकरणको विश्लेषण अनुसार याे वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ । तुलनात्मक रूपमा कर्णाली प्रदेशमा भने मनसुनको प्रभाव अन्य प्रदेशको तुलनामा कम पर्ने अनुमान गरिएको छ ।
विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। उक्त कार्ययोजना सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइसकिएको छ। सोही कार्ययोजनालाई आधार मानी अधिकांश स्थानीय तहले आ–आफ्नो विशिष्ट कार्ययोजना समेत निर्माण गरिसकेका छन् ।
सूचना अधिकारी महतले भनिन्, ‘हामीले मनसुनजन्य बाढी–पहिरोका साथै अत्यधिक गर्मी (लु) र खडेरीबाट सिर्जित हुनसक्ने जोखिमलाई पनि विशेष प्राथमिकतामा राखेका छौँ। यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट तोकिएको छ।’
मनसुन कार्ययोजनाभन्दा दुई–तीन महिना अगाडि नै तातो हावाको लहर र खडेरी सम्बन्धी प्रतिकार्य योजना स्वीकृत भई कार्यान्वयनमा आइसकेको उनले जानकारी दिइन् । सम्भावित विपद्को सामना गर्न सरकारले खोज,उद्धार तथा राहत सामग्रीहरूको पर्याप्त व्यवस्था गरेको छ । विगतका वर्षहरूको अनुभवलाई आधार मान्दै यसपटक थप राहत सामग्री खरिद गरी देशका विभिन्न रणनीतिक स्थानमा भण्डारण गरिएको प्राधिकरणले जनाएको छ ।
विपद्को समयमा नागरिकलाई तत्काल सहयोग पुर्याउन सञ्चालनमा रहेको हेल्पलाइन नम्बर ११४९ लाई थप विस्तार गरिएको छ । यसअघि केन्द्रीय स्तरमा मात्र सीमित यो सेवा अब ७७ वटै जिल्ला प्रशासन कार्यालयअन्तर्गतका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट समेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।



















