इटहरीले ल्यायो साढे २ अर्बको बजेट, धरानमा भने फेरि अन्योल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार १९:१४

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि साढे २ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

बुधबार नगरसभा मार्फत उपमहानगरले २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

Advertisement

इटहरीले समयमै बजेट ल्याइरहँदा छिमेकी सहर धरान उपमहानगरपालिकाले भने यसपटक पनि संवैधानिक समयसीमाभित्र बजेट ल्याउन सकेन ।

इटहरीले सार्वजनिक गरेको बजेटमा विकास निर्माण अर्थात् पुँजीगत तर्फ १ अर्ब २९ करोड ४६ लाख र प्रशासनिक तथा चालु खर्च तर्फ ९४ करोड ८३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । विषयगत क्षेत्रका लागि २६ करोड ७५ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड २४ लाख रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आम्दानीलाई बजेटको मुख्य स्रोत बनाएको छ । इटहरीले आगामी वर्ष ५६ करोड ३० लाख ४० हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

धरान उपमहानगरपालिकामा भने बजेटलाई लिएर फेरि अन्योल देखिएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भए पनि कार्यपालिकाभित्र योजना बाँडफाँडको विषयमा कुरा नमिल्दा बजेट रोकिएको हो ।

धरानका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले बजेट निर्माणका लागि छलफल जारी रहेको र सहमति जुटेपछि १–२ दिनभित्रै बजेट सार्वजनिक गरिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.