महासंघको नेतृत्वलाई मजदुर संगठनको सम्मान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १७:१५

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

संगठनको ४७औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार काठमाडौंको कोटेश्वरमा आयोजित विशेष समारोहमा महासंघका अध्यक्ष सरोज सिटौला, प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर तथा अन्य पदाधिकारीलाई सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार महासंघको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मानपत्र प्रदान गरिएको थियो ।

Advertisement

कार्यक्रममा अध्यक्ष र प्रमुख सल्लाहकारसँगै महासचिव डेकनाथ गौतम तथा उपत्यकाबाट निर्वाचित अन्य पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष सानुकाजी प्रजापति, उपाध्यक्षहरू आत्माराम थापा, यादवलाल श्रेष्ठ, चन्द्रा ओझा, कान्छाराम थिङ, कान्छामान बल र जितबहादुर भारती रहेका छन् । त्यसैगरी, उपमहासचिव देविन श्रेष्ठ र पुरुषोत्तम सिंखडा, सचिव चेतप्रसाद गौतम (अर्जुन), कोषाध्यक्ष राजेन्द्र आचार्य तथा बागमती प्रदेश संयोजक सुवन गिरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षा, यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको संरक्षण तथा उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषय अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले यात्रुको सुरक्षित यात्रा अधिकार सुनिश्चित गर्न पनि यातायात व्यवसायी र मजदुर संगठनहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे । राईले सार्वजनिक यातायात क्षेत्रका साझा चुनौती समाधान गर्न व्यवसायी र मजदुर पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै श्रमिक हित, लगानी सुरक्षा र सेवा सुधारलाई समान प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष पूण्यप्रसाद (सरोज) सिटौलाले सरकार विभिन्न नीतिगत विषयमा आक्रामक ढंगले अघि बढिरहेको सन्दर्भमा व्यवसायी र मजदुरका साझा माग तथा मुद्दाहरूमा महासंघ सधैँ सहकार्यका लागि प्रतिबद्ध रहेको बताए । उनले सार्वजनिक यातायात क्षेत्रलाई समयानुकूल प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उल्लेख गर्दै लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट नीति निर्माणका लागि सबै सरोकारवाला पक्ष मिलेर काम गर्नुपर्ने धारणा राखे ।

महासंघका प्रमुख सल्लाहकार विजयबहादुर स्वाँरले महासंघको नेतृत्व तहमा पुगेका अधिकांश व्यक्तिहरूको पृष्ठभूमि श्रमिक आन्दोलनसँग जोडिएको स्मरण गर्दै मजदुर संगठनबाट प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको बताए । उनले श्रमिक र व्यवसायीबीचको सहकार्यले नै यातायात क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी ७३ जना यातायात मजदुर रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै, बागमती प्रदेश समितिद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो ।

संगठनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले यातायात व्यवसायी र मजदुर संगठनबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.