
काठमाडौं । नेपाल–भारत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सादा पोसाकमा परिचालन हुने ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) गठन गर्ने तयारी गरेको छ ।
सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरीले यो अवधारणालाई प्रारम्भिक रूपमा पाइलट परियोजनाका रूपमा कार्यान्वयनमा ल्याउने योजना बनाएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा बिहीबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा व्यवस्थापनलाई संस्थाको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको बताउँदै बीआईटी अवधारणा अब कार्यान्वयनको चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार सुरुमा देशका प्रमुख सीमा नाकाहरूमा बीआईटी परिचालन गरिनेछ। त्यसपछि प्राप्त अनुभव र आवश्यकताका आधारमा अन्य सीमा क्षेत्रहरूमा समेत विस्तार गरिने योजना रहेको छ । बीआईटीमा सशस्त्र प्रहरीकै जनशक्ति रहने भए पनि उनीहरू नियमित बर्दीमा नभई सादा पोसाकमा खटिनेछन् । यद्यपि, टोलीका सदस्यहरूले पहिचान र एकरूपता झल्किने प्रकारका पोसाक प्रयोग गर्ने व्यवस्था गरिने बताइएको छ ।
सशस्त्र प्रहरीका अनुसार बीआईटीको मुख्य उद्देश्य सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँग प्रत्यक्ष सम्पर्क बढाउनु, उनीहरूका समस्या बुझ्नु तथा सम्बन्धित निकाय र भारतीय सुरक्षा निकायसँग समन्वयलाई थप प्रभावकारी बनाउनु हो । सीमा क्षेत्रमा हुने गतिविधिका बारेमा सूचना संकलन, स्थानीय तहमा विश्वास निर्माण तथा दुवै देशका सुरक्षा निकायबीच सहकार्य अभिवृद्धि गर्ने जिम्मेवारी पनि टोलीले वहन गर्नेछ ।
आईजीपी पौडेलले भारतीय सीमा सुरक्षा बल (एसएसबी)मा यस्तै प्रकृतिको टोली सञ्चालनमा रहेको उल्लेख गर्दै नेपालतर्फ पनि आधुनिक सीमा व्यवस्थापनका लागि समान अभ्यास सुरु गर्न लागिएको बताए । उनका अनुसार हालसम्म सीमा क्षेत्रमा सशस्त्र प्रहरी बर्दीसहित परिचालित हुँदै आएको भए पनि अब समुदायसँग प्रत्यक्ष घुलमिल हुन सक्ने विशेष टोलीको आवश्यकता महसुस गरिएको हो ।
बीआईटी परिचालन भएपछि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा थप सहयोग पुग्ने सशस्त्र प्रहरीको विश्वास छ । चोरीपैठारी, सीमापार अपराध, मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा राजस्व चुहावटजस्ता गतिविधिको समयमै सूचना प्राप्त गर्न र नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाउन टोली उपयोगी बन्ने अपेक्षा गरिएको छ ।
सीमा सुरक्षासँगै विपद् व्यवस्थापनलाई पनि सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको छ । आईजीपी पौडेलले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा छिटो उद्धार तथा राहत कार्य सञ्चालन गर्न संस्थागत तयारीलाई सुदृढ बनाइएको जानकारी दिए ।
सशस्त्र प्रहरीको यो नयाँ अभ्यासलाई सीमा सुरक्षामा समुदायको सहभागिता बढाउने तथा सुरक्षा निकाय र नागरिकबीचको दूरी कम गर्ने प्रयासका रूपमा हेरिएको छ । यदि पाइलट परियोजनाले अपेक्षित परिणाम दियो भने बीआईटीलाई देशभरका महत्वपूर्ण सीमा क्षेत्रहरूमा विस्तार गर्ने सशस्त्र प्रहरीको योजना छ ।



















