
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिवेदन माग्दै निवेदन लेखेका हुन् । उनकाे तर्फबाट एमाले नेता महेश बर्तौलाले हिजो (शुक्रबार) मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका छन् ।
अनुसन्धान प्रतिवेदन, निर्णय र त्यस सँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको बर्तौलाले जानकारी दिए ।
आगजनी गर्ने, संवैधानिक अंगहरुलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको विषय उनले निवेदनमा उल्लेख गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर १७७ भन्ने सार्वजनिक सञ्चार माध्यममा आएको निर्णय नं १७७ को सिफारिश खण्ड संग निर्णयको तथ्य खण्ड मेल नखाएको पनि निवेदनमा उल्लेख छ ।



















