
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चुलिएको छ । बजेट असन्तुलित र पहुँचवाला केन्द्रित भएको भन्दै सत्तापक्षका सांसदहरूले नै विरोध जनाएका हुन् । सत्तापक्षकै सांसदको विरोधका कारण बिहीबारका लागि बोलाइएको प्रदेशसभा बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले सार्वजनिक गरेको बजेटमा मन्त्रीहरूले मनपरी गरेको र मुख्यमन्त्रीको जिल्लामा मात्रै ठूलो रकम केन्द्रित गरिएको भन्दै एमाले र नेपाली कांग्रेसका सांसदहरू आक्रोशित छन् ।
विशेषगरी पहाडी र हिमाली जिल्लाका पुराना योजना काटिएको र सुगम क्षेत्रमा अनावश्यक नयाँ योजना थपिएको उनीहरूको आरोप छ।
सांसदहरूको तीव्र असन्तुष्टिपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विवाद मिलाउन समय मागेका छन् । बजेटको मूल दस्तावेज संशोधन गर्ने अभ्यास नभएकाले मन्त्रिपरिषद्को निर्णयबाट केही योजना रद्द गर्ने र वित्तीय हस्तान्तरणमार्फत बजेट सन्तुलन मिलाउने विकल्पमा छलफल भइरहेको छ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई भेटेर सांसदहरूले बजेट नसच्चिए संसद् चल्न नदिने चेतावनी दिएका छन् ।



















