
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित अत्यन्तै चुनौतीपूर्ण मानिएको ‘घर्ती पहरा’ (महभीर) फोडेर सडक निर्माण कार्य सम्पन्न गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा अवस्थित यो विशाल चट्टानी पहरा काटेर सडक बनाएसँगै यस क्षेत्रको यातायातमा नयाँ आयाम थपिएको हो ।
कुनै समय मानिसहरू हिँड्ने साँघुरो गोरेटो बाटो मात्र रहेको यो भीरमा अब मोटर गुड्ने भएको छ । उदयपुरस्थित निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्सले करिब पाँच महिनाको निरन्तर प्रयासपछि गत असार ११ गते चट्टान काटेर सडक छिचोल्न सफल भएको हो । गत माघ २८ गतेदेखि विशेष उपकरण प्रयोग गरी यहाँको कडा चट्टान काट्ने काम सुरु गरिएको थियो।
पहरा छिचोलेर बाटो तयार भएलगत्तै असार १३ गते कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले यस सडकको उद्घाटन गरेका थिए । आहाले–रेग्मीटारलाई सगरमाथा राजमार्गसँग जोड्ने यो सडक खण्ड खोटाङको विकासका लागि रणनीतिक महत्त्वको मानिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले विकट क्षेत्रमा सडक सञ्जाल पुग्दा स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
याे सडकले पूर्णता पाएपछि हलेसी तुवाचुङ क्षेत्रका नागरिकलाई सगरमाथा राजमार्गसम्म पुग्न निकै सहज हुने र स्थानीय कृषि उपजको बजारिकरणमा समेत मद्दत पुग्ने स्थानीयले अपेक्षा गरेका छन्।

























