
विराटनगर । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच बढ्दै गएको दूरी र ‘संवादहीनता’ अन्त्य गर्न पार्टीका महानगर सभापतिहरूले सक्रियता देखाएका छन् । पार्टीभित्रको आन्तरिक कलहले संगठन कमजोर हुने चिन्ता व्यक्त गर्दै चार महानगरका सभापतिहरूले विराटनगरस्थित कोइराला निवास पुगेर नेता डा. शेखर कोइरालासँग विशेष छलफल गरेका हुन् ।
छलफलमा काठमाडौं महानगर सभापति निलकाजी शाक्य, विराटनगरका दीपक चापागाईं, वीरगञ्जका मनिन्द्रलाल श्रेष्ठ र ललितपुरका शोभानन्द दुवाडी सहभागी थिए ।
महानगर सभापतिहरूसँगको संवादमा नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा सधैँ सकारात्मक रहेको स्पष्ट पारे । तर, उनले एकताको मुख्य जिम्मेवारी पार्टी सभापतिको काँधमा रहेको बताए । ‘पार्टीलाई एक ढिक्का बनाउने मुख्य दायित्व सभापतिजीको हो, हामीले त केवल सहजीकरण र निकासका लागि सहयोग गर्ने हो,’ डा. कोइरालाले भने, ‘पछिल्लो दुई महिनायता सभापति लगायतका साथीहरूले मसँग कुनै संवाद गर्नुभएको छैन । यदि संवाद र छलफल भयो भने पार्टीलाई एकजुट बनाउन म कुनै कसर बाँकी राख्दिन । त्यसका लागि तपाईहरुले समन्वयकारी भूमिका खेल्नु होस् ।’ उनले कांग्रेस बलियो भए मात्रै देश र लोकतन्त्र सुदृढ हुने जिकिर समेत गरे ।
काठमाडौं सभापति निलकाजी शाक्यले शीर्ष नेतृत्वबीचको संवादहीनताले तल्लो तहका कार्यकर्तामा निराशा छाएको बताए । ‘नेताहरू नमिल्दा पार्टी नै धराशायी हुने अवस्था छ, त्यसैले हामीले यो खाडल पुर्न पहल थालेका हौँ,’ उनले भने ।
विराटनगर सभापति दीपक चापागाईंका अनुसार यस टोलीले यसअघि सभापति गगनकुमार थापा र नेता पूर्णबहादुर खड्कासँग पनि छुट्टाछुट्टै छलफल गरिसकेको छ । सभापति थापाको भनाइ उद्धृत गर्दै चापागाईंले भने, ‘सभापतिज्यूले केही बुँदामा अझै सहमति जुट्न बाँकी रहेको बताउनु भएको छ । ती विषयमा आगामी १०–१२ दिनभित्र ठोस सहमति हुने र पार्टीमा नयाँ उत्साह आउने हाम्रो अपेक्षा छ ।’ उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि शीर्ष नेताहरूको भूमिका अहम् रहेको बताए ।
पार्टीभित्रको आन्तरिक विवाद र गुटबन्दीका कारण नीतिगत र सांगठनिक कामहरू प्रभावित भइरहेका बेला महानगरका सभापतिहरूको यो ‘मध्यस्थता’ लाई कांग्रेसभित्र निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

























