
एजेन्सी । सर्बियामा डेढ वर्षदेखि जारी विद्यार्थी नेतृत्वको सरकार विरोधी आन्दोलनले निर्णायक मोड लिएको छ । आन्दोलनको चर्को दबाबबीच राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही साताभित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
राजधानी बेलग्रेडमा आयोजित सरकारी समर्थकहरूको सभामा उनले राजीनामापछि मध्यावधि राष्ट्रपतीय र संसदीय निर्वाचन गराउने बताएका हुन् । सन् २०२४ मा नोभी सादस्थित रेल–वे स्टेसनको क्यानोपी भत्किँदा १६ जनाको मृत्यु भएपछि सरकारविरुद्ध देशभर आन्दोलन सुरु भएको थियो । आन्दोलनकारीहरूले उक्त दुर्घटनालाई सरकारी लापरबाही र भ्रष्टाचारको परिणाम भन्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
यद्यपि, राजनीतिक विश्लेषकहरूले भुचिचको राजीनामालाई सत्ता त्याग नभई नयाँ राजनीतिक रणनीतिको रूपमा हेरेका छन् । उनी आगामी संसदीय निर्वाचनपछि पुनः प्रधानमन्त्रीका रूपमा सत्तामा फर्कने तयारीमा रहेको अनुमान गरिएको छ ।
उता, प्रदर्शनकारीहरूले भने राजीनामाको घोषणाले मात्र आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । उनीहरूले भुचिचले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ता नियन्त्रण गर्न खोज्ने आशंका व्यक्त गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।

























