फाइल फाेटाेउदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जंगली हात्तीको समूहले वितण्डा मच्चाएको छ । बस्तीमा छिरेको हात्तीको हुलले ११ वटा घर भत्काउनुका साथै लाखौँ मूल्य बराबरको धनमाल क्षति गरेपछि स्थानीय जनजीवन त्रसित बनेको छ ।
शनिबार राति अज्ञात स्थलबाट गाउँ पसेको हात्तीको समूहले चौदण्डीगढी नगरपालिकाका–४ र ७ मा व्यापक क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीले सर्वसाधारणको घर टहरा भत्काउने, भण्डारण गरिएको अन्नपात खाने, लत्ताकपडा नष्ट गर्ने र खेतमा लगाइएको बालीनाली ध्वस्त पारेको हो ।
प्रहरीका अनुसार आइतबार रातिसम्म हात्तीले दुई वडाका ११ घरमा गरी कुल १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति गरेको छ ।
वडा नम्बर ७ लामाचौरीकी वृद्धिमाया राईको घर भत्काउँदा ४ लाख बराबरको क्षति भएको छ भने रोशन विश्वकर्मा र बम बहादुर विश्वकर्माको घर भत्काउँदा जनही २–२ लाखको नोक्सानी भएको छ ।
यस्तै, लक्ष्मी विश्वकर्माको ३ लाख, वीरबहादुर मगरको २ लाख, खिलबहादुर मगरको १ लाख र राधा विश्वकर्माको १ लाख बराबरको धनमाल नष्ट भएको छ । वीरबहादुर मगरको त कुखुरा र परेवाको खोरका साथै ५ कठ्ठामा लगाइएको मकै बाली समेत हात्तीले सखाप पारेको प्रहरीले जनाएको छ ।
वडा नम्बर ४ का शारदा राईको घर र केरा खेती नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको छ भने असुन्ता राईको ३ लाख, दुर्गाबहादुर बस्नेतको २ लाख र सरस्वती राईको २ लाख बराबरको अन्नपात र भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
दिउँसै गाउँ पसेर उपद्रो मच्चाउन थालेपछि स्थानीयले प्रहरीलाई गुहारेका थिए । इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा मध्यरातदेखि प्रयास गर्दा सोमबार बिहान मात्र हात्तीको समूहलाई जंगलतर्फ गएको थियो ।
हात्तीको आक्रमणबाट घरबारविहीन भएका र अन्नपात गुमाएका पीडित परिवारलाई चौदण्डीगढी नगरपालिकाले तत्काल प्रारम्भिक राहत उपलब्ध गराएको छ । पीडित परिवारका ७ घरधुरीलाई तत्कालका लागि चामल, दाल, नुन, तेल, झुल, लत्ताकपडा र आवश्यक भाँडाकुँडा वितरण गरिएको छ ।

























