
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसमा रहेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का संरचना हटाई नयाँ विद्यार्थी प्रतिनिधि संयन्त्र गठन गर्न निर्देशन दिएको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै आंगिक क्याम्पसलाई पत्राचार गर्दै ६० दिनभित्र स्ववियुसँग सम्बन्धित संरचना हटाउन र ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गरी त्यसको जानकारी निर्देशनालयमा पठाउन आग्रह गरेको हो । निर्देशनालयका अनुसार विश्वविद्यालय अनुदान आयोग तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनका आधारमा उक्त निर्णय गरिएको हो ।
पत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप बढ्दै गएको, विद्यार्थीको वास्तविक आवाज प्रभावकारी रूपमा प्रतिनिधित्व हुन नसकेको तथा शैक्षिक गुणस्तरमा समेत असर परेको उल्लेख गर्दै त्यसको समाधानका लागि नयाँ विद्यार्थी संयन्त्र विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । त्रिविले क्याम्पस परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनसँग सम्बन्धित संरचना हटाएर विद्यार्थीको साझा हित र सहभागितामा आधारित प्रतिनिधिमूलक संयन्त्र स्थापना गर्न निर्देशन दिएको छ ।
नयाँ व्यवस्था कार्यान्वयनपछि सम्बन्धित क्याम्पसहरूले तोकिएको समयभित्र प्रगति विवरण निर्देशनालयमा पठाउनुपर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।


























