
विराटनगर । लागुऔषधको बढ्दो दुर्व्यसनलाई नियन्त्रण गर्न परम्परागत सचेतनामूलक कार्यक्रमभन्दा फरक शैली अपनाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले सामाजिक सञ्जाल टिकटकलाई जनचेतना फैलाउने माध्यमका रूपमा प्रयोग गरेको छ ।
युवापुस्तामाझ सबैभन्दा लोकप्रिय डिजिटल प्लेटफर्ममार्फत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित टिकटक प्रतियोगितामा विराटनगर महानगरपालिका–३ की आयुषा विक प्रथम भएकी छन् । मोरङ प्रहरीले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्धको महाअभियान (मेगा क्याम्पेन अगेन्स्ट नार्कोटिक्स–मेगा क्यान)–२०८३’ अन्तर्गत गत जेठ १० गते घोषणा गरिएको प्रतियोगितामा देशका विभिन्न स्थानबाट सन्देशमूलक टिकटक भिडियोहरू प्राप्त भएका थिए ।
ती भिडियोहरूको मूल्यांकनपछि उत्कृष्ट पाँच सिर्जनाकर्तालाई छनोट गरी आइतबार विराटनगर–७ स्थित जैन भवनमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा आयुषा विकले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरिन् ।
दोस्रो स्थानमा हिरा बहादुर विक रहँदै ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने तेस्रो स्थानमा अमृत श्रेष्ठले ३० हजार रुपैयाँसहित प्रमाणपत्र हात पारे । चौथो स्थानमा शंकरकुमार शर्माले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पाँचौँ स्थानमा आयुषा आचार्य र किरण निरौलाले समान अंक प्राप्त गरेकाले दुवैलाई पुरस्कारबापत ५–५ हजार रुपैयाँ प्रदान गरिएको थियो । उत्कृष्ट २० भित्र पर्न सफल अन्य सहभागीलाई पनि ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको छ ।
प्रतियोगिताको मूल्यांकन पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, माधवप्रसाद रेग्मी, श्रुति शर्मा लगायतको समितिले गरेको थियो । प्रतियोगितामा प्रस्तुत भिडियोहरूमा लागुऔषधको दुष्प्रभाव, युवापुस्तामा यसको असर, परिवार र समाजमा पर्ने नकारात्मक प्रभाव तथा लागुऔषधविरुद्ध सामूहिक सचेतनाको आवश्यकता समेटिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालको प्रभाव बढेकाले त्यसलाई सकारात्मक उद्देश्यका लागि उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले टिकटक मनोरञ्जनको मात्र माध्यम नभई सही सन्देश प्रवाह गर्न सकिने प्रभावकारी प्लेटफर्मसमेत भएकाले लागुऔषधविरुद्धको अभियानलाई युवामाझ पुर्याउन यस्तो प्रतियोगिता प्रभावकारी भएको उल्लेख गरे ।
उनका अनुसार पछिल्ला वर्षहरूमा लागुऔषधको प्रयोग विशेषगरी युवापुस्तामा बढ्दो चुनौतीका रूपमा देखिएको छ । त्यसको रोकथामका लागि प्रहरीले कानुनी कारबाहीसँगै जनचेतनामूलक अभियानलाई पनि समान प्राथमिकता दिएको छ । विद्यालय, क्याम्पस, समुदाय तथा डिजिटल प्लेटफर्मसम्म अभियान विस्तार गर्नु त्यसैको निरन्तरता भएको घिमिरेको भनाइ थियो ।
डीआईजी घिमिरेले कार्यक्रम सफल बनाउन नेतृत्वदायी भूमिका खेलेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई धन्यवाद दिँदै प्रतियोगितामा सहभागी सबै सिर्जनाकर्ताको प्रशंसा गरे । उनले सामाजिक सञ्जालमा सकारात्मक सामग्रीको विस्तारले लागुऔषधविरुद्ध समाजमा सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, एसपी कवित कटवाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उप–अनुसन्धान निर्देशक राजन शर्मा सापकोटा, कोशी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र राउत, विभिन्न सरकारी निकायका प्रमुख, उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा प्रतियोगिताका सहभागीको उपस्थिति रहेको थियो ।
सामाजिक सञ्जाललाई अक्सर मनोरञ्जन, भाइरल सामग्री वा व्यक्तिगत अभिव्यक्तिको माध्यमका रूपमा हेरिने गरिए पनि मोरङ प्रहरीले त्यसलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको एसपी कटवाल बताउँछन् । विशेषगरी टिकटकजस्ता प्लेटफर्ममा युवाको उल्लेख्य सहभागिता रहेकाले लागुऔषधविरुद्ध चेतना फैलाउन यस्ता डिजिटल अभियान प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
लागुऔषध नियन्त्रण प्रहरीको जिम्मेवारी मात्र नभई परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम र स्वयं युवाको साझा दायित्व रहेको सन्देश प्रतियोगिताले दिएको छ । जनचेतना र सिर्जनशीलतालाई एकै ठाउँमा जोड्दै आयोजना गरिएको यस कार्यक्रमले सामाजिक सञ्जाललाई सकारात्मक परिवर्तनको माध्यमका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखाएको छ ।





























