
काठमाडौं । नेपालमा मनसुन प्रणाली थप सक्रिय भएसँगै देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको छ । जसले वर्षाको तीव्रता अझ बढाउने संकेत गरेको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा जारी छ । आगामी केही घण्टामा विभिन्न क्षेत्रसहित देशका अन्य स्थानमा पनि वर्षा थप फैलिने र तीव्र बन्ने सम्भावना रहेको जनाइएको छ ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा चट्याङसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली क्रमशः उत्तरतर्फ सर्दै जाँदा त्यसबाट आउने आर्द्र हावाको प्रभाव नेपालभर बढ्नेछ । यही कारण मनसुनी गतिविधि थप सक्रिय बनेको हो । पर्याप्त जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले आगामी दिनमा पनि वर्षाको क्रम जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षासँगै प्राकृतिक विपद्को जोखिम पनि उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी पहाडी क्षेत्रमा भूक्षय, पहिरो र सडक अवरुद्ध हुने जोखिम उच्च रहेको छ भने तराई तथा सहरी क्षेत्रमा डुबानको सम्भावना बढेको छ । लगातारको वर्षाका कारण ठूला तथा साना नदी, खोलानाला र खहरेहरूमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ ।
महाशाखाले पहिरोको जोखिम रहेका सडकमार्गमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन, नदी तथा खोलाको बहाव बढ्न सक्ने क्षेत्रबाट अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचना तथा चेतावनीलाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नागरिकलाई मौसमको पछिल्लो अवस्थाबारे नियमित जानकारी लिन तथा सम्भावित बाढी, पहिरो र डुबानबाट बच्न पूर्वतयारी अवस्थामा रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



















