
विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ मा रहेको बेतना सिमसार आन्तरिक पर्यटकको रमाइलो गन्तव्य बनेको छ । त्यति मात्रै नभएर जैविक विविधताको संरक्षण, दुर्लभ वन्यजन्तुको आश्रयस्थल, वातावरणीय अध्ययन तथा अनुसन्धान र स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण बेतना सिमसार पछिल्ला वर्षहरूमा कोशी प्रदेशकै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको हो ।
विशेषगरी साइबेरियाबाट आउने दुर्लभ चरादेखि विश्वमै दुर्लभ मानिने ‘मयुर पंखी कछुवा’सम्मको वासस्थान एवं आश्रयस्थल बनेको बेतना पछिल्लो समय विद्यार्थी, अनुसन्धानकर्ता, प्रकृति प्रेमी र पर्यटकको साझा रोजाइ बन्न पुगेको छ । तर, सबैको रोजाइमा परिरहेको सिमसारले जेनजी आन्दोलनका बेला ठुलो क्षति पनि बेहोर्नु पर्यो । आन्दोलनका क्रममा यहाँ रहेका भवन, सीसी क्यामेरा तथा अन्य भौतिक संरचना जलाएर ध्वस्त पारिएपछि सिमसारको आम्दानीमा उल्लेख्य गिरावट आएको छ । बेतना सिमसार अहिले पूर्वाधार पुनर्निर्माण, सरकारी सहयोग र दीर्घकालीन संरक्षण योजनाको पर्खाइमा छ ।
कोशी प्रदेश नेपालको पूर्वी भू–भागमा अवस्थित प्राकृतिक विविधताको अनुपम संगम हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि देशकै सबैभन्दा होचो भू–भाग झापाको कचनकवलसम्म फैलिएको यो प्रदेश हिमाल, पहाड र तराईको अनुपम संयोजनले परिचित छ । धार्मिक पर्यटन, ऐतिहासिक सम्पदा, औद्योगिक विकास, जैविक विविधता तथा प्राकृतिक सौन्दर्यका कारण कोशी प्रदेशले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय पर्यटन नक्सामा पनि विशेष पहिचान बनाउँदै आएको छ । यसै प्रदेशको तराई क्षेत्रमा अवस्थित बेतना सिमसारलाई अहिले प्रदेशको पर्यटकीय विकासको नयाँ सम्भावनाका रूपमा हेरिन थालेको छ । केही वर्ष अघिसम्म सीमित स्थानीयको जानकारीमा रहेको बेतना अहिले देशभरका पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताको गन्तव्य बनेको छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण सिमसार
पूर्वपश्चिम राजमार्गसँग जोडिएको बेतना सिमसार पुग्न सहज छ । इटहरीबाट करिब १५ किलोमिटर पूर्वतर्फ रहेको बेतना सडक सञ्जालसँग प्रत्यक्ष जोडिएकाले दैनिक सयौँ पर्यटक सहजै पुग्ने गरेका छन् । हरियाली जंगल, स्वच्छ जलाशय र चराचुरुङ्गीको मधुर आवाजले भरिएको वातावरणमा प्रवेश गर्दा छुट्टै संसारमा पुगेको अनुभूति हुन्छ । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अनुसार सिमसार करिब १७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये करिब तीन हेक्टर जलाशय रहेको छ भने बाँकी १७३ हेक्टर क्षेत्रमा घना जंगल फैलिएको छ । यही जंगल र जलाशयको संयोजनले बेतनालाई पूर्वी नेपालको सबैभन्दा महत्त्वपूर्ण सिमसार क्षेत्रमध्ये एक बनाएको हो । जानकारहरूका अनुसार ‘बेतना’ नाम पनि यहाँ प्रशस्त पाइने दुई प्रजातिका बेत वनस्पतिबाट रहन गएको हो । जमिनको गर्भबाट वर्षभरि निरन्तर पानी निस्कने भएकाले यहाँका पोखरी कहिल्यै सुक्दैनन् । यही विशेषताले असंख्य जीवजन्तु र वनस्पतिलाई स्थायी एवं सुरक्षित वासस्थान प्रदान गरेको छ ।
जैविक विविधताको अनुपम भण्डार
बेतना सिमसारको सबैभन्दा ठुलो विशेषता यसको जैविक विविधता हो । एउटै ठाउँमा धेरै प्रजातिका जीवजन्तु, चराचुरुङ्गी, वनस्पति र जलचर पाइने स्थान नेपालमै सीमित छन् । यहाँ ६३ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । हरेक वर्ष जाडो सुरु भएसँगै साइबेरियालगायत उत्तरका चिसा भू–भागबाट दुर्लभ चराहरू यहाँ बसाइँ सरेर आउने गर्छन् । असोजको अन्तिम सातादेखि फागुनसम्म चराहरूको आगमनले सिमसारको सौन्दर्य अझ बढाउने गरेको छ ।
त्यसैगरी यहाँ ७५ प्रजातिका पुतली, ५६ भन्दा बढी प्रजातिका वनस्पति, विभिन्न जातका माछा तथा अन्य जलचर जीवहरू पाइन्छन् । जंगल क्षेत्रमा करिब १३ प्रजातिका स्तनधारी वन्यजन्तु बसोबास गर्ने गरेका छन् । सिमसार परिसरमा उद्धार गरेर ल्याइएका केही वन्यजन्तु पनि संरक्षण गरिएको छ । बाँदर, वन बिरालो, खरायो, अजिंगर, हरिण, लोखर्के, चिल, सेतो मुसालगायतका जीवजन्तुलाई सुरक्षित राखिएको छ । यसले सिमसारलाई सानो प्राकृतिक चिडियाखानाको झल्कोसमेत दिएको छ ।

विश्वमै दुर्लभ ‘मयुर पंखी कछुवा’को सुरक्षित आश्रय
बेतना सिमसारलाई अन्य सिमसारभन्दा फरक बनाउने सबैभन्दा महत्त्वपूर्ण पक्ष दुर्लभ कछुवाको संरक्षण हो । यहाँ पाँच प्रजातिका कछुवा पाइन्छन् । जसमा सबैभन्दा महत्त्वपूर्ण ‘मयुर पंखी कछुवा’ हो । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष रिता कोइरालाका अनुसार ‘मयुर पंखी कछुवा’ अत्यन्तै दुर्लभ प्रजातिको हो र बेतना यसको प्रमुख संरक्षण स्थलका रूपमा चिनिन्छ । यसबाहेक सुन कछुवा, पुतली कछुवा, घिडिया कछुवा र भुइँ कछुवा पनि यहाँ पाइन्छन् ।
दुर्लभ कछुवाको संरक्षणलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारबाट एक करोड ३९ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताइन् । कछुवाको संरक्षण, प्रजनन तथा व्यवस्थापनका लागि विशेष योजना अघि बढाइएको छ । यही कारण पछिल्लो समय कछुवा सम्बन्धी अध्ययन गर्न देशका विभिन्न विश्वविद्यालयका विद्यार्थी र अनुसन्धानकर्ताहरू नियमित रूपमा बेतना पुग्ने गरेका छन् ।
अनुसन्धान केन्द्रका रूपमा बढ्दो आकर्षण
पहिले बेतना मुख्यतः वनभोज र घुमफिरको गन्तव्यका रूपमा चिनिन्थ्यो । अहिले यसको परिचय फेरिँदै गएको छ । पछिल्ला वर्षहरूमा वनस्पति विज्ञान, प्राणी विज्ञान, वातावरण विज्ञान तथा जैविक विविधतासम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरू नियमित रूपमा आउने गरेको उपाध्यक्ष कोइरालाको भनाइ छ । उनका अनुसार विश्वविद्यालय तथा कलेजका विद्यार्थीले यहाँको पानी, माछा, पुतली, कछुवा, चराचुरुङ्गी र वनस्पतिमा अनुसन्धान गर्दै शोधपत्र तयार पार्ने गरेका छन् । झापा, मोरङ र सुनसरीका शैक्षिक संस्थाहरू मात्र नभएर देशका अन्य प्रदेशबाट पनि विद्यार्थी अध्ययन भ्रमणमा बेतना आउने क्रम बढेको जानकारी कोइरालाले दिइन् । यही कारण बेतना अब सामान्य पर्यटकीय गन्तव्यभन्दा माथि उठेर अनुसन्धान, अध्ययन र जैविक विविधताको प्रयोगशालाका रूपमा विकास हुने दिशामा अघि बढिरहेको छ ।
वनस्पति, जलचर, दुर्लभ कछुवा, साइबेरियन चराको बसाइँसराइ, पुतली, जलस्रोत तथा सिमसार पारिस्थितिकीय प्रणालीमाथि अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर बढिरहेको छ । नेपालका विभिन्न विश्वविद्यालयका विद्यार्थीले स्नातकदेखि स्नातकोत्तर तहसम्मका शोधपत्र तयार गर्न बेतनालाई प्रयोग गरिरहेका छन् । वातावरणविद्, जीवविज्ञ, वनस्पतिविज्ञ तथा संरक्षणकर्मीले समेत बेतनालाई पूर्वी नेपालको खुला प्रयोगशाला भन्न थालेका छन् । यस अवस्थाले उचित लगानी, अनुसन्धान पूर्वाधार, प्रयोगशाला, सूचना केन्द्र तथा अन्तर्राष्ट्रिय सहकार्यको व्यवस्था गर्न सकिए बेतना महत्त्वपूर्ण सिमसार अनुसन्धान केन्द्र बन्न सक्ने सम्भावना बलियो देखिन्छ ।

स्थानीय कृषि र अर्थतन्त्रको आधार
बेतना सिमसारको महत्त्व पर्यटन वा अनुसन्धानमा मात्र सीमित छैन । यहाँको जलस्रोतले आसपासका करिब एक हजार बिघा खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने गरेको छ । २०५७ सालमा गठन भएको बेतौना जलउपभोक्ता समूहमार्फत किसानहरूले यहाँको पानी प्रयोग गर्दै आएका छन् । स्थानीय कृषिको उत्पादन वृद्धि गर्न सिमसारले महत्त्वपूर्ण भूमिका खेलेको छ । यससँगै देवीथान र अमना–सिसौली सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय संघ संस्थाहरूले पनि संरक्षण अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन् । चोरी सिकारी नियन्त्रण, वन विनाश रोकथाम तथा अवैध गतिविधि नियन्त्रणका लागि चौकीदार, तारबार तथा सीसी क्यामेराको व्यवस्था गरिएको थियो । तर, जेनजी आन्दोलनका क्रममा अधिकांश भौतिक संरचना नष्ट भएपछि पुनर्निर्माणको काम पूरा हुन सकेको छैन ।
यो सिमसारले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ । प्रत्यक्ष रूपमा ११ जना कर्मचारीले रोजगारी पाएका छन् । आवश्यकता अनुसार स्थानीयलाई अन्य विभिन्न काममा पनि संलग्न गराइन्छ । तर, प्रत्यक्ष रोजगारीभन्दा ठुलो प्रभाव अप्रत्यक्ष रोजगारीमा देखिएको छ । सिमसार आसपास अहिले १५ भन्दा बढी होटेल सञ्चालनमा छन् । चटपटे, चिया, नास्ता तथा स्थानीय परिकार बिक्री गर्ने व्यवसाय फस्टाएका छन् । सिटी सफारी चालक, साना व्यवसायी तथा स्थानीय व्यापारीको आम्दानीमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
उपाध्यक्ष कोइरालाले भनिन्, ‘बेतना सिमसार आफूले मात्रै आम्दानी गरेको छैन । यहाँ आउने पर्यटककै कारण बाहिर १५ भन्दा बढी होटेल सञ्चालनमा छन् । चटपटे बिक्री गर्ने, सिटी सफारीमार्फत पर्यटकलाई ल्याउने–लाने, स्थानीय व्यापार गर्ने धेरैको आम्दानी यसैसँग जोडिएको छ । त्यसैले तीनै तहका सरकारले यसको संरक्षण र प्रवर्धनमा विशेष ध्यान दिन जरुरी छ ।’ उनका अनुसार सिमसारको वार्षिक आम्दानी करिब ६० देखि ७० लाख रुपैयाँ हुने गरेको छ । सिमसार प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ भने १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पिकनिक स्पोट र पाइडल डुंगाको भने छुट्टै शुल्क लाग्ने गरेको छ । उक्त आम्दानीबाट बेलबारी नगरपालिकालाई २० प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने हुन्छ । यसबाहेक अन्य कर तथा स्थानीय संघ संस्थालाई सहयोगसमेत उक्त आम्दानीबाट गरिने कोइरालाले बताइन् ।
पर्यटकको बढ्दो आकर्षण
बेतना पूर्वी नेपालको लोकप्रिय आन्तरिक पर्यटकीय गन्तव्यमध्येमा पर्छ । जाडोयाम सुरु भएसँगै यहाँको वातावरण थप जीवन्त बन्छ । साइबेरियाबाट आउने दुर्लभ चराहरू, पानीमाथि तैरिरहेका कछुवा, हरियाली जंगल, स्वच्छ हावा र शान्त वातावरणले गर्दा दैनिक सयौँ पर्यटक बेतनातर्फ आकर्षित हुन्छन् । बेतना सिमसारमा पर्यटकको चहलपहल अत्यधिक बढ्ने समय असोजको अन्तिम सातादेखि फागुन महिनासम्म हो । बेतना घुमघामको मुख्य सिजनमा विद्यालय तथा कलेजका अध्ययन भ्रमण, वनभोज कार्यक्रम, पारिवारिक घुमघाम, संस्थागत भ्रमण र प्रकृति अवलोकनका गतिविधि उल्लेख्य रूपमा हुने गरेको कोइरालाले बताइन् ।
उनका अनुसार सिजनमा बिदाको दिन तथा शनिबार दैनिक करिब दुई हजार जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । अन्य समयमा दैनिक एकदेखि दुई सय पर्यटक नियमित रूपमा सिमसार घुम्न आउने उनले बताइन् । कोइरालाका अनुसार सिमसारमा आउने पर्यटक रमाइलो गर्न मात्रै आउने होइनन् । कतिपय स्वास्थ्यका लागि बिहान–बेलुका पैदल हिँड्न आउँछन् भने धेरै विद्यार्थी अध्ययन तथा अनुसन्धानका लागि पुग्ने गरेका छन् । पछिल्लो समय जीव विज्ञान, वनस्पति विज्ञान, वातावरण विज्ञान तथा जैविक विविधतासम्बन्धी अनुसन्धान गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको उनले बताइन् ।

उपाध्यक्ष कोइरालाले भनिन्, ‘विद्यार्थीहरू किताब लिएर शान्त माहोलमा पढ्न आउने गर्छन् । विभिन्न जीव र वनस्पति विज्ञहरू अनुसन्धान गर्न आउँछन् । जीवजन्तुको संरक्षण हाम्रो मुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौँ । नेपालको ठुलो सिमसार कैलालीको घोडाघोडी तालपछि बेतना सिमसारलाई मानिएको छ ।’ उनले अझ थप्दै भनिन्, ‘वनस्पति, पुतली, माछा, कछुवा र पानीमा ‘रिसर्च’ गर्ने तथा थेसिस बनाउन आउने विद्यार्थीहरूको संख्या धेरै हुन्छ । झापा, मोरङ र सुनसरीका मात्रै नभई देशका विभिन्न ठाउँका कलेजले विद्यार्थी ल्याउने गरेका छन् ।’ बेतना सिमसार अब पर्यटकीय केन्द्रमा सीमित नरही अध्ययन, अनुसन्धान र जैविक विविधताको संरक्षणसँग जोडिएको शैक्षिक केन्द्रका रूपमा पनि विकसित हुँदै गएको कोइरालाको भनाइ छ ।
सिमसार आउने पर्यटकको दायरा बर्सेनि फराकिलो बन्दै गएको छ । यहाँ कोशी प्रदेशसहित देशका विभिन्न जिल्लाका पर्यटक आउँछन् । भारतीय पर्यटकको पनि आउने गरेका छन् । भारतको ओडिसा, पश्चिम बंगाल र बिहारबाट समेत पर्यटक आउने गरेको तथ्यांक छ । केही तेस्रो मुलुकका पर्यटकले पनि बेतनालाई भ्रमण सूचीमा राख्ने गरेका छन् । राजमार्गसँग जोडिएको भए पनि सिमसारभित्र प्रवेश गरेपछि बाहिरको कोलाहल एकाएक हराउँछ । घना हरियाली, चराचुरुङ्गीको आवाज, चिसो हावा, शान्त वातावरण र पानीको सतहमा तैरिरहेका जीवजन्तुले प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गराउँछन् । यही विशेषताले बेतनालाई अन्य धेरै पर्यटकीय स्थलभन्दा फरक बनाएको हो ।
यहाँ पुग्ने अधिकांश पर्यटकलाई प्राकृतिक शान्त वातावरणले लोभ्याउने गरेको छ । सहरको व्यस्त जीवनबाट केही घण्टाका लागि भए पनि टाढा बसेर प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि बेतना सिमसार पहिलो रोजाइ बन्न थालेको छ । इटहरीबाट साथीहरूसँग बेतना सिमसार घुम्न आएका विमल भण्डारीले शान्त वातावरणले आफूहरूलाई बारम्बार यहाँ आउन प्रेरित गर्ने बताए । उनले भने, ‘हामी साथीहरू यो सिमसारमा प्रायः आउने गर्छौं । किनभने रमाइलो र शान्त वातावरण छ । हरियाली जंगल, चराचुरुङ्गीको आवाज र स्वच्छ हावाले मन आनन्दित बनाउँछ । जाडो महिनामा साथीभाइका साथै पारिवारिक रूपमा पनि पिकनिकका लागि आउने गरेका छौँ ।’
उनका अनुसार यहाँका माछा, कछुवा, जलाशय र हरियालीले मानिसलाई प्रकृतिसँग नजिक बनाइदिन्छ । ‘यहाँ भएका माछा, कछुवा र रमणीय वातावरणले आनन्द दिन्छ । अझ यसभित्र एउटा व्यवस्थित चिडियाखाना सञ्चालन गर्न सकियो भने घुम्न आउने पर्यटकलाई थप सहज हुने थियो,’ भण्डारीले सुझाव दिए । भण्डारीजस्तै धेरै पर्यटकले बेतनालाई व्यवस्थित प्राकृतिक विश्राम स्थलका रूपमा विकास गर्नुपर्ने धारणा राख्ने गरेका छन् ।

वनभोज, डुंगा सयर र व्यवस्थित पूर्वाधार
पर्यटकलाई लक्षित गरेर बेतना सिमसारभित्र आवश्यक पूर्वाधार विस्तार गरिएको छ । समितिका अनुसार सिमसार क्षेत्रमा ६० वटा पिकनिक स्पोट (वनभोज स्थल) निर्माण गरिएका छन् । प्रत्येक स्थानमा खानेपानी, बस्ने व्यवस्था, शौचालय तथा सरसफाइको सुविधा छ । सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामेरा जडान गरिएका छन् । पर्यटकका लागि सञ्चालनमा ल्याइएको पाइडल डुंगाले जलाशयको मनोरम दृश्य नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्छ ।
परिसरमा वातावरणीय सौन्दर्य थप्ने उद्देश्यले विभिन्न कलाकार तथा वातावरणविद्को सहयोगमा कमिला, विभिन्न प्रजातिका हाडखोर तथा अन्य जीवजन्तुका कलात्मक प्रतिमासमेत निर्माण गरिएको छ । उद्धार गरेर ल्याइएका बाँदर, वन बिरालो, लोखर्के, अजिंगर, खरायो, हरिण, चिल तथा अन्य वन्यजन्तुको संरक्षण गरिएकाले सिमसारले प्राकृतिक चिडियाखानाको झल्कोसमेत दिन थालेको छ ।
आन्दोलनले निम्त्याएको ठुलो क्षति
बेतना सिमसारले प्राकृतिक विपत्तिभन्दा ठुलो क्षति मानवीय गतिविधिबाट बेहोर्नुपरेको छ । जेनजी आन्दोलनको आवरणमा आपराधिक समूहले २०८२ भदौ २४ गते सिमसारभित्र रहेका भवन, सीसी क्यामेरा तथा अन्य भौतिक संरचनामा आगजनी र तोडफोड गरेको थियो । यसबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ । पहिले यहाँको भवनमा विभिन्न संघसंस्था, सरकारी निकाय तथा निजी संस्थाले साधारण सभा, गोष्ठी, तालिम र सेमिनार आयोजना गर्ने गर्थे । भवन भाडाबाट सिमसारलाई राम्रो आम्दानी हुने गरेको थियो । तर, भवन पूर्ण रूपमा ध्वस्त पारिएपछि सबै गतिविधि पूर्ण रूपमा बन्द भएका छन् ।
उपाध्यक्ष कोइरालाले दुःख व्यक्त गर्दै भनिन्, ‘आन्दोलनमा यहाँको भवन जलाएर पूर्ण रूपमा ध्वस्त पारिएकाले अहिले बाहिर खुला स्थानमा घुम्न आउने मात्रै छन् । भवन नभएकाले कार्यक्रम गर्न आउँदैनन् । यसले सिमसारको आम्दानी घटेको छ ।’ उनका अनुसार आन्दोलनअघि सिमसारको आन्तरिक आयको महत्त्वपूर्ण हिस्सा भवन भाडाबाट आउने गरेको थियो । यद्यपि, प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा २० लाख रुपैयाँ लागतमा पानीको फोहोरा निर्माण गरिएको छ । त्यसले सिमसारको सौन्दर्य बढाएको भए पनि आन्दोलनबाट ध्वस्त भएका मुख्य पूर्वाधार पुनर्निर्माण हुन अझै बाँकी छन् ।
संरक्षण नै सबैभन्दा ठुलो चुनौती
पर्यटकको संख्या बढ्दै जानु सकारात्मक पक्ष भए पनि त्यससँगै संरक्षणको चुनौती पनि थपिएको छ । सिमसार क्षेत्रमा प्लास्टिकजन्य फोहोर, अव्यवस्थित वनभोज, वन्यजन्तुलाई अनावश्यक रूपमा जिस्क्याउने प्रवृत्ति तथा प्राकृतिक सम्पदाप्रतिको लापरबाही नियन्त्रण गर्नु सजिलो छैन । उपाध्यक्ष कोइरालाका अनुसार सिमसारको आम्दानीको मुख्य स्रोत नै पर्यटक भएकाले उनीहरूको सुरक्षा, सुविधा र प्राकृतिक सम्पदाको संरक्षणलाई समान रूपमा अघि बढाउनुपर्ने अवस्था छ । उनले भनिन्, ‘पर्यटक नआएमा यहाँको संरक्षण गर्न नै समस्या हुन्छ । त्यही भएर हामी सिमसारलाई कसरी संरक्षण गर्ने र पर्यटकलाई कसरी लोभ्याउने भन्ने योजनामै केन्द्रित छौँ । प्रदेश सरकारको सहयोग भर्खरै मात्रै प्राप्त गर्न थालेका हौँ । नगरपालिकाले सामान्य सहयोग गरेको छ ।’ संरक्षणको काम समितिको प्रयासले मात्र सम्भव नहुँदै बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट नीति, दीर्घकालीन योजना, नियमित बजेट व्यवस्थापन तथा प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरिन् ।
उनका अनुसार सीमित आम्दानीले सिमसारको संरक्षण, कर्मचारीको तलब, पूर्वाधार मर्मत, कर तथा अन्य प्रशासनिक खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था छ । सीमित आम्दानीबाट असीमित खर्च गर्नु परेकाले सोचेजस्तो विकास गर्न नसकिएको कोइरालाको भनाइ छ । स्थानीय स्तरमा थप रोजगारी सिर्जना गर्न सकेमा सिमसारको समग्र विकासमा ठुलो टेवा पुग्ने उनले बताइन् । बेतना सिमसार कोशी प्रदेशको पहिचान र स्थानीयको जीविकोपार्जनको आधार पनि भएको कोइरालाले बताइन् । सरकारले अझ व्यवस्थित हिसाबले प्रचारप्रसार गर्ने हो भने सिमसार अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय तथा अनुसन्धान केन्द्र बन्ने उनको तर्क छ ।
बेतना सिमसारले पर्यटकलाई मनोरञ्जन मात्र दिएको छैन । यसले स्थानीय कृषिलाई सिँचाइ, दुर्लभ जीवजन्तुलाई सुरक्षित आश्रय र सयौँ परिवारलाई आम्दानी दिएको छ । विद्यार्थीलाई अनुसन्धानको खुला कक्षा उपलब्ध गराएको छ । प्राकृतिक सम्पदाको संरक्षणसँगै दिगो पर्यटन विकास, वैज्ञानिक अनुसन्धान, स्थानीय रोजगारी र वातावरणीय सन्तुलनलाई एकसाथ अघि बढाउन सकिएमा बेतना सिमसार भविष्यमा कोशी प्रदेशको मात्र नभएर नेपालकै अन्तर्राष्ट्रिय पहिचान बोकेको उत्कृष्ट सिमसार गन्तव्य बन्ने स्थानीय बताउँछन् । नेपालको सिमसार संरक्षण र प्रकृतिमा आधारित दिगो विकासको नमुना पनि स्थापित हुने उनीहरूको भनाइ छ ।


























