
काठमाडौं । गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टमा खाद्य गुणस्तर, सरसफाइ र स्वच्छताको अवस्था नियमित रूपमा अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
सर्वसाधारणबाट खानाको गुणस्तर र स्वच्छतासम्बन्धी बढ्दो गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो । गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमनलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेको छ ।
नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि वा प्रचलित कानुनको उल्लंघन गर्ने होटल तथा रेष्टुरेण्टमाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा सहज रूपमा दर्ता गर्न सकिने हटलाइन वा द्रुत सेवा डेस्क तत्काल सञ्चालनमा ल्याउनसमेत भनेको छ ।
प्राप्त हुने हरेक उजुरीलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी तत्काल आवश्यक कारबाही अघि बढाउन निर्देशनमा उल्लेख गरिएको छ । यससँगै स्थानीय प्रशासनलाई नागरिकले सामान्य समस्याका लागि मन्त्रालय वा केन्द्रसम्म पुग्नुपर्ने अवस्था अन्त्य गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।



















