
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (पूर्वडीआईजी) अर्जुन चन्द ठकुरीको उपचारका क्रममा निधन भएको छ । लडेर गम्भीर घाइते भएपछि केही दिनदेखि उपचाररत रहेका चन्दको बुधबार बिहान ६ः५५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
प्राप्त जानकारीअनुसार चन्द गत असार ५ गते राति करिब ९ बजे ललितपुर महानगरपालिका–१८ नख्खुस्थित श्रीजनामार्गमा रहेको आफ्नै निवासमा एक्कासि लडेका थिए । लडेर घाइते भएपछि उनलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा प्रारम्भिक उपचारपछि सोही दिन डिस्चार्ज गरिएको थियो ।
तर, स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेपछि असार १० गते दिउँसो पुनः समस्या देखिएको थियो । त्यसपछि उनलाई फेरि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेका बेला बुधबार बिहान उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी चन्द उमेरहदका कारण गत वर्ष नेपाल प्रहरी सेवाबाट अवकाशमा गएका थिए । प्रहरी सेवामा रहँदा उनले विभिन्न जिम्मेवार पदमा रहेर काम गरे ।

























