
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेलगत्तै बसेको बैठकले पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन विभिन्न जिम्मेवारी निर्वाह गरेका उपसमिति, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
पार्टीले महाधिवेशनलाई सफल बनाउन योगदान दिएका सबै पक्षको भूमिकाको उच्च मूल्यांकन गर्दै औपचारिक रूपमा आभार व्यक्त गरेको हो । त्यसैगरी, पार्टी विधानमा पहिलो केन्द्रीय समिति बैठकबाट निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त रहन नहुने व्यवस्था रहेकाले सोहीअनुसार आवश्यक निर्णय गरिएको छ ।
बैठकले लेखा आयोगको अघिल्लो कार्यसमिति विघटन गर्दै सोही टोलीलाई पुनः जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । अनुशासन आयोगको नेतृत्वलाई पनि पूर्णता दिँदै उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई आयोगमा नियुक्त गरिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा पौडेल न्यायिक क्षेत्रको अनुभवका आधारमा आयोगमा नियुक्त भएका हुन् । नयाँ केन्द्रीय समितिको पहिलो बैठकले संगठनलाई विधानअनुसार सञ्चालन गर्ने, पार्टीका संवैधानिक संरचनालाई सक्रिय बनाउने तथा महाधिवेशनपछि संगठनलाई थप व्यवस्थित ढंगले अघि बढाउने सन्देश दिएको रास्वपाले जनाएको छ ।

























