
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। आयोगले यसबारे सत्य तथ्य के हो भन्दै रास्वपालाई बुधबार पत्राचार गरेको छ।
रास्वपाको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा बालबालिकालाई सदस्यता दिएको उल्लेख भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा बालबालिकालाई राजनीतिक सदस्यता दिनु प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने उल्लेख छ ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) अनुसार आयोगले सो पार्टीलाई बालबालिकालाई सदस्यता वितरण भए / नभएको विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।


























