विराटनगरको रानी नाका तनावग्रस्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १४:३६

विराटनगर । विराटनगरको रानीस्थित नेपाल–भारत सीमा क्षेत्र केहीबेर अघिदेखि तनावग्रस्त बनेको छ । भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य नाका १ नम्बर ढाट बन्द गरेर स्थानीय आन्दोलनमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको हो ।

विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटलाई फलामको सिक्री लगाएर मानिससमेत आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा उत्रिएका स्थानीय जोगवनी बजार प्रवेशको मुख्य नाका १ नम्बर ढाट बन्द गरेर आन्दोलित बनेका हुन् ।

स्थानीयको आन्दोलनका कारण नेपाल–भारत आवतजावत बन्द भएको छ । अन्दोलनपछि मानिस तथा सवारीसाधनको आवतजावत रोकिएको हो । सीमा क्षेत्रको ३ नम्बर ढाट कोरोना महामारीदेखि नै बन्द गरिएको थियो ।

ढाटमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको थियो । मानिसले आवतजावत भने गर्न पाउँथे । तर, बिहीबारबाट मानिससमेत हिँड्न नमिल्ने गरी फलामको सिक्री लगाएर ढाट बन्द गरिएको भन्दै त्यसको विरोधमा ढाटनजिकको चाइना मार्केटका व्यापारी, स्थानीय र सीटी सफारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएहरुकाले ३ नम्बर ढाटको आवतजावत खुला गर्नुपर्ने माग गर्दै १ नम्बर ढाट बन्द गराएका थिए । आक्रोशित बनेका स्थानीयले मानिस तथा सवारीसाधनले आवतजावत गर्न मिल्ने गरी ३ नम्बर ढाट खुला राख्नुपर्ने माग गर्दै तोडफोडको प्रयाससमेत गरेका छन् ।

नम्बर ढाट इलाका प्रहरी कार्यालय रानी (सीमा)सँगै जोडिएको छ । स्थानीय तोडफोडमा उत्रिने प्रयास गरेपछि प्रहरीले सामान्य लाट्ठी चार्ज गरेको छ । घटनास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन लाट्ठी चार्ज गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

सुरक्षाकर्मीले लाट्ठी चार्ज गरेपछि भागदौड मच्चिएको थियो । स्थानीय व्यापारी रन्जित ठाकुरले ढाट नै बन्द गरिएपछि समस्यामा परेकाहरु आन्दोलनमा उत्रिएको बताए । ‘ढाट बन्द गरेर यसअघि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । अहिले पैदलयात्रीलाई समेत आवतजावत गर्न रोक लगाइयो । त्यसको विरोधमा स्थानीयले आन्दोलन गरेका हुन्,’ उनले भने ।

समस्या समाधानका लागि स्थानीय प्रशासन र भन्सार प्रशासनले ध्यान नदिएको ठाकुरको भनाइ छ । उनका अनुसार बुधबार बिहान ११ बजेदेखि १ नम्बर ढाट बन्द गरेर आन्दोलन सुरु गरिएको हो । प्रहरीको लाट्ठी प्रहारबाट केही व्यक्तिलाई चोट लागेको जानकारी उनले दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले समस्या समाधानका लागि पहल भइरहेको बताए । ‘ढाट बन्द गरेर आन्दोलनमा उत्रिएकाहरुलाई सम्झाइबुझाइ गर्ने काम भइरहेको छ । स्थिति नियन्त्रणभन्दा बाहिर जान लागेपछि सुरक्षाकर्मीले सामान्य बल प्रयोग गर्नुपर्ने अवस्था आएको हो । अहिले अवस्था सामान्य हुँदैछ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.