
काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतबाट विधेयक पारित भएको घोषणा गरेका हुन् । विधेयकमाथिको छलफलमा सांसदहरू प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती विक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले आफ्नो धारणा राख्दै विभिन्न संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
छलफलको अन्त्यमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाशचन्द्र परियार, कमल सुवेदी र हरिमोहन भण्डारीले आफ्ना संशोधन प्रस्ताव फिर्ता लिए भने अन्य सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । यसअघि सरकारले यही विषयमा अध्यादेश जारी गरेको थियो ।
उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो ।
























