विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १९:१३
विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उनलाई रिहाई गर्नुपर्ने माग राखेर दायर गरिएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गर्दै पौडेललाई हाल थुनामै राख्ने निर्णय गरेको हो । पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको थियो ।

तर, सर्वोच्च अदालतले उक्त मागसँग सहमत नभई रिट खारेज गरेको हो । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।

पक्राउ गरेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै पौडेल तत्काल थुनामुक्त हुने सम्भावना टरेको छ भने उनीमाथिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र कानुनी प्रक्रिया यथावत् अगाडि बढ्ने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.