
विराटनगर । धान रोपाइँको मुख्य समय बित्न लाग्दासमेत मोरङको कटहरी गाउँपालिका–६ का किसानले रासायनिक मल पाउन सकेका छैनन् । समयमै मल नपाउँदा खेत नै बाँझो रहने चिन्ताले किसानहरू पिरोलिएका छन् ।
आफूहरू वास्तविक किसान हुँदाहुँदै पनि सरकारी प्रक्रिया र सहकारीको मिलेमतोका कारण मलबाट वञ्चित हुनुपरेको आरोप लगाउँदै पीडित किसानहरूले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पीडा र सार्वजनिक गरेका हुन् । किसानका अनुसार शालिग्राम कृषि सहकारी संस्थाले वडा कार्यालयबाट टोकन प्राप्त भएपछि प्रत्येक किसानलाई २५ किलो डीएपी र २५ किलो युरिया उपलब्ध गराउने जानकारी दिएको थियो ।
तर, टोकन हातमा परेका धेरै किसानले अझैसम्म मल पाउन सकेका छैनन् । सहकारीमा अझै १६७ बोरा मल मौज्दात रहे पनि वास्तविक किसानलाई वितरण नगरी लुकाएर राखिएको किसानहरूको दाबी छ ।
पत्रकार सम्मेलनमा बोल्दै स्थानीय किसान रामनारायण साहले सरकारी निकाय र सहकारीबीचको मिलेमतोका कारण पहुँच भएका र आफन्तलाई मात्र प्राथमिकतामा राखेर मल वितरण गरिएको आरोप लगाए । ‘हामीले गाउँपालिकामा लिखित निवेदन पनि दियौं । तर, कुनै सुनुवाइ भएन । वास्तविक किसानलाई होइन । पहुँचवालालाई मल बाँडिएको छ,’ उनले आक्रोश व्यक्त गरे ।
त्यस्तै, ७७ वर्षीय वृद्ध किसान भीम भट्टराइको पीडा अझ गहिरो छ । उनी लामो समयदेखि साढे १३ बिघा जमिनमा खेती गर्दै आएका छन् । तर, यसवर्ष मल अभावले उनको सिंगो खेती नै संकटमा परेको छ । ‘१३ बिघा खेतमा धान रोप्न तयारी गरिसकेको छु । तर, मल नपाउँदा खेत बाँझै रहने अवस्था आयो । मल लुकाएर राखिएको छ,’ उनले गुनासो गरे ।
किसानहरूले सहकारीका अध्यक्षले आफ्नै ट्याक्टरबाट खेत जोताउने किसानलाई मात्र मल उपलब्ध गराएर वास्तविक किसानमाथि विभेद गरेको समेत आरोप लगाएका छन् । यता, सहकारीका अध्यक्ष लक्ष्मण ठाकुरले भने मल वितरण नियमित रूपमा भइरहेको दाबी गरेका छन् । उनले भने, ‘मल वितरण भइरहेको छ । एक–दुई जना किसानले मल नपाएर तमासा गरेका हुन् । यसलाई सामान्य रूपमा लिनुपर्छ ।’
किसानहरूले गाउँपालिकामा बुझाएको निवेदनमा शालिग्राम कृषि सहकारीले डीएपी मल लुकाएको भन्दै छानबिन र कारबाहीको माग गरेका छन् । यसबारे वडा अध्यक्ष विसो सरदारसँग अनुगमन किन नगरिएको भनी प्रश्न गर्दा, औपचारिक निवेदन नपरेसम्म अनुगमन गर्न नसकिने जवाफ दिएको किसानहरू बताउँछन् ।
गाउँपालिकामा पहिल्यै निवेदन बुझाइसक्दा पनि वडा र गाउँपालिकाले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । धान रोपाइँको संवेदनशील समयमा सैयौं किसान आश्रित रहेको कटहरीमा मल अभावले सन्नाटा छाएको छ ।
राजनीति र पहुँचका आधारमा नभई वास्तविक किसानको पहिचान गरेर तत्काल मल उपलब्ध गराउन उनीहरूले माग गरेका छन् । समयमै मल नपाए यस वर्षको उत्पादन मात्र नभई जीविकोपार्जनमै गम्भीर संकटमा पर्ने किसानको भनाइ छ ।



















