
काठमाडौं । वैशाख १ गतेदेखि असार १९ गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा १२७ जनाले ज्यान गुमाएका छन् भने ७७३ जना घाइते भएका छन् । सोही अवधिमा तीन हजार ७२२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनअनुसार वैशाखयता देशभर कुल दुई हजार ७२१ वटा विपदजन्य घटना दर्ता भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यस अवधिमा सर्पदंशदेखि आगलागी, चट्याङ, हावाहुरी, लेक लाग्ने, बाढी, पहिरोलगायत विभिन्न प्रकारका विपदले मानवीय तथा भौतिक क्षति पुर्याएका छन् ।
तथ्यांकअनुसार सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशका कारण भएको छ । सर्पदंशका ३९८ घटनामा २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् ।
त्यसपछि लेक लाग्ने ५४ घटनामा २१ जनाले ज्यान गुमाएका छन् भने ३४ जना घाइते भएका छन् । चट्याङका २०५ घटनामा १९ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।
घटनाको संख्याका आधारमा भने आगलागी सबैभन्दा बढी देखिएको छ । वैशाखयता आगलागीका ८३० घटना भएका छन् । ती घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
जनावरको आक्रमणका १४७ घटनामा १४ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । त्यसैगरी हावाहुरीका ४७४ घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने ६७ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, भारी वर्षा, डुंगा दुर्घटना, वन डढेलो तथा हिउँ पहिरोजस्ता अन्य विपदजन्य घटनाबाट पनि मानवीय क्षति भएको छ । प्रवक्ता महतले पछिल्लो २४ घण्टामा मात्रै २७ जिल्लामा ३१ वटा विपदजन्य घटना भएको जानकारी दिइन् । ती घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
प्राधिकरणले मनसुन सक्रिय बन्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै नागरिकलाई मौसमको सूचना नियमित रूपमा पालना गर्न, जोखिमयुक्त क्षेत्रबाट सतर्क रहन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने पूर्वसूचनाको पालना गर्न आग्रह गरेको छ ।

























