
काठमाडौं । राहदानी विभागले नयाँ विद्युतीय प्रणाली (सिस्टम) लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण गर्ने प्रक्रियाका कारण केही दिन राहदानी सेवा अस्थायी रूपमा बन्द गरिने भएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द हुनेछ । यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा भने असार २५ र २६ गते दुई दिन बन्द रहनेछ ।
विभागका अनुसार प्रणाली स्तरोन्नतिको काम सम्पन्न भएपछि नयाँ प्रणाली नियमित रूपमा सञ्चालनमा ल्याइनेछ । सेवाग्राहीलाई सेवा अवरुद्ध हुने अवधिलाई ध्यानमा राखी आवश्यक काम समयमै सम्पन्न गर्न विभागले आग्रह गरेको छ ।

























