
विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज (शनिबार) विराटनगर आउँदैछन् । काठमाडौंबाट १० बजेको बुद्ध एयरको जहाजमा उनी विराटनगर अवतरण गर्ने तय भएको छ ।
स्रोतका अनुसार मोरङ र सुनसरीका नेपाल–भारत सीमा क्षेत्रको अनुगमनका लागि उनी आउन लागेका हुन् । विराटनगर विमानस्थलमा ओर्लिएपछि उनी सीमा क्षेत्रको अनुगमनमा जाने तयारी रहेको बताइएको छ ।
‘गृहमन्त्री ज्यूको बिहान १० बजेको टिकटक छ । विराटनगर ओर्लिएपछि मोरङ र सुनसरीका सीमा क्षेत्रको अनुगमनमा जाने कुरा छ । धनकुटासम्म पुग्ने कार्यक्रम छ भन्ने जानकारी आयो । त्योबाहेक अरु कुन–कुन कार्यक्रममा उनी सहभागी हुन्छन् भन्ने यकिन छैन,’ स्रोतले भन्यो ।
गृहमन्त्री गुरुङ कोशी प्रदेशका सुनसरी र मोरङ जिल्लामा आकस्मिक छड्के अनुगमनका लागि आएको चर्चा शुक्रबारदेखि नै चलेको थियो । तर, उनी नआएको र काठमाडौंमै रहेको पुष्टि भएको छ ।
सुरक्षा निकायलाई पूर्वजानकारी नै नदिई उनी शुक्रबार सीमा नाकालगायत संवेदनशील क्षेत्रको अनुगमनमा निस्किएको हल्ला चल्यो । सुरक्षा स्रोतले भने गृहमन्त्री शुक्रबार नआएको र शनिबार मात्रै आउने कार्यक्रम तय भएको जनाएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने शनिबार गृहमन्त्री आउने कुरा पनि आफूलाई थाहा नभएको बताए । स्रोतका अनुसार शनिबार बिहान विराटनगर आएपछि गृहमन्त्री गुरुङले सीमा नाकाको अवस्था, सुरक्षा व्यवस्थापन तथा सम्भावित चोरी तस्करीका बारेमा प्रत्यक्ष जानकारी लिन छड्के अनुगमन गर्ने छन् ।
उनी कहिलेसम्म कोशी प्रदेशमा रहन्छन् भन्ने यकिन छैन । केही दिनअघि मात्रै गृहमन्त्री गुरुङ मधेश प्रदेशको पर्सा पुगेका थिए । त्यसक्रममा उनले सीमा क्षेत्रमा स्थानीयसँग चोरी तस्करी र सुरक्षा अवस्थाका बारेमा प्रत्यक्ष जानकारी लिएको भिडियो सार्वजनिक भएको थियो ।

























