
विराटनगर । मोरङको लेटाङ नगरपालिकाको अलगअलग स्थानमा दुर्घटनामा परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना महिला हुन् ।
कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अनटेस्ट सीटी सफारी लेटाङ नगरपालिका–३ मा शनिबार बिहान ११ः५५ बजेतिर दुर्घटनामा परेको थियो । सफारी आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।
दुर्घटनामा परेर घाइते हुनेमध्ये लेटाङ–४ सिद्धार्थ लाइनकी ६० वर्षीया सन्चमाया लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लेटाङकै एडभान्स अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइयो । अस्पताल पुर्याउनसाथ उनको शनिबार दिउँसो १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सफारी दुर्घटनामा चालक लेटाङ–४ सिद्धार्थ लाइनका ४० वर्षीय वीरबहादुर राई, सफारीमा सवार ३७ वर्षीया शान्ति राई र लेटाङ–५ खेरुवाकी ५० वर्षीया अन्जु राई घाइते भएका थिए । घाइते सबैको लेटाङस्थित एड्भान्स अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ । सीटी सफारी नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै, लेटाङ–९ जाँतेमा ९ दिनअघि दुर्घटनामा परेर घाइते भएकी एक जना युवतीको शनिबार दिउँसो मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ–९ जाँतेमा प्र १–०२–०६० प १७५५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको को २२ प ९५०९ नम्बरको स्कुटरलाई असार ११ गते ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक ताप्लेजुङको मिकुवाखोला गाउँपालिका–२ का ३० वर्षीय प्रवीण दाहाल, स्कुटर चालक लेटाङ–९ की २५ वर्षीया चाँदनी राई र पछाडि सवार २२ वर्षीया मुना दाहाल घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाकी मुना दाहालको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मोटरसाइकल चालक र स्कुटर चालकको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये स्कुटर चालक चाँदनी राईको अवस्था गम्भीर छ । मोटरसाइकल चालक प्रवीण दाहालको अवस्था भने सामान्य छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























