संविधान संशोधन बहसपत्र अन्तिम चरणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार २०:००

काठमाडौं । संविधान संशोधनका विषयमा बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ ।

कार्यदलले प्रतिवेदन तयार पारेर असार मसान्तभित्र सरकारलाई बुझाउने तयारी गरेको छ । कार्यदलले विभिन्न सरोकारवाला निकाय, संविधानविद् तथा राजनीतिक दलहरूसँग व्यापक छलफल सम्पन्न गरिसकेको र अहिले प्रतिवेदन लेखनको अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा यसका बारेमा जानकारी दिएका हुन् । नयाँ सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा उनले कार्यदलले संविधान संशोधनको मस्यौदा तयार गर्ने काम योजनाअनुसार अघि बढिरहेको बताए ।

संयोजक साहका अनुसार कार्यदलले संविधान संशोधनका सम्भावित विषयमा विभिन्न सरोकारवाला निकाय, संविधानविद् तथा राजनीतिक दलहरूसँग निरन्तर छलफल गर्दै आएको छ । छलफलबाट प्राप्त सुझाव र धारणा समेटेर अहिले प्रतिवेदन लेखनको काम जारी रहेको उनले बताए ।

उनले कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने कार्यतालिका तय गरेको जानकारी दिँदै प्रतिवेदन अन्तिम रूप दिएपछि त्यसका बारेमा थप जानकारी सार्वजनिक गरिने बताए ।

साहले संविधान संशोधन बहसपत्र तयार गर्ने प्रक्रिया अहिले लगभग प्रतिवेदन लेखनतर्फ केन्द्रित भइसकेको उल्लेख गर्दै कार्यदल आफ्नो जिम्मेवारी पूरा गर्ने अन्तिम तयारीमा रहेको बताए । उनले प्रतिवेदन तयार भएपछि त्यसका विषयवस्तु र आगामी प्रक्रियाका बारेमा सरकारमार्फत आवश्यक जानकारी गराइने पनि स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.