
एजेन्सी । भारतको केन्द्रीय गृह मन्त्रालयले पाकिस्तानमा रहेका २३ जनालाई गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत ‘घोषित आतंकवादी’ (डिजिग्नेटेड टेररिस्ट)को सूचीमा समावेश गरेको छ ।
शनिबार जारी गरिएको सरकारी आदेशअनुसार ती व्यक्तिहरूको सम्बन्ध जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबालगायतका आतंकवादी संगठनसँग रहेको भारतले दाबी गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहको कार्यालयद्वारा जारी विज्ञप्तिमा उनीहरू भारतविरोधी गतिविधिमा संलग्न रहेको उल्लेख गरिएको छ ।
भारतले उनीहरूमाथि आतंकवादी हमला गराउने, आतंकवादका लागि उक्साउने, हतियार तस्करी गर्ने, सीमा पार घुसपैठ गराउने, आतंकवादी संगठनलाई सहयोग पुर्याउने, आर्थिक स्रोत जुटाउने तथा नयाँ सदस्य भर्ती गर्ने आरोप लगाएको छ । २३ जनामध्ये १७ जना पाकिस्तानी नागरिक र ६ जना भारतीय नागरिक रहेको भारतले जनाएको छ ।
उनीहरू हाल पाकिस्तान तथा पाकिस्तानको नियन्त्रणमा रहेको जम्मु–कश्मीरबाट आतंवादी गतिविधि सञ्चालन गरिरहेको भारतको दाबी छ । समाचार एजेन्सी पीटीआईका अनुसार यूएपीएले केन्द्र सरकारलाई कुनै व्यक्ति आतंकवादी गतिविधिमा संलग्न रहेको ठहरिएमा उसको नाम ‘घोषित आतंकवादी’को सूचीमा राख्ने अधिकार दिएको छ ।
आतंकवादी सूचीमा नाम समावेश भएपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले ती व्यक्तिहरूका आर्थिक स्रोतमा रोक लगाउने, हतियार खरिद–बिक्रीमा प्रतिबन्ध लगाउने तथा उनीहरूको सम्पत्ति जफत गर्ने कानुनी अधिकार प्रयोग गर्न सक्ने व्यवस्था रहेको बताइएको छ ।



















