
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज (आइतबार) मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
यसै प्रभावका कारण आइतबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बादल लाग्नेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने सम्भावना छ । दिउँसो देशका हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
त्यसैगरी, देशका पहाडी भू–भागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, कोशी र बागमती प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आइतबार रातिको मौसम पनि पूर्ण रूपमा सुधार नहुने देखिएको छ । पूर्वानुमानअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।
रातको समयमा देशका हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । राति सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहने भएकाले सम्भावित बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

























