
एजेन्सी । इरानले होर्मुज स्ट्रेटमा सैन्य उपस्थिति बढाउने बेलायत र फ्रान्सको योजनाप्रति तीव्र असन्तुष्टि जनाउँदै त्यसका गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिएको छ ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत बेलायत र फ्रान्सको संयुक्त विज्ञप्तिप्रति प्रतिक्रिया जनाउँदै होर्मुज स्ट्रेट क्षेत्रबाहिरका शक्तिहरूले सैन्य शक्ति प्रदर्शन गर्ने स्थान नभएको बताएका छन् । उनले इरानले यस संवेदनशील जलमार्गको सुरक्षालाई आफ्नो जिम्मेवारीका रूपमा लिँदै आएको उल्लेख गर्दै कुनै पनि विदेशी सैन्य गतिविधिलाई स्वीकार नगर्ने स्पष्ट सन्देश दिएका छन् ।
शुक्रबार बेलायत र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेटलाई विश्व अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण समुद्री मार्ग भएको बताएका थिए । उनीहरूले यस मार्गबाट जहाजहरूको सुरक्षित र अवरोधरहित आवतजावत सुनिश्चित गर्न सैन्य बल परिचालन गर्ने तथा ओमानसहित क्षेत्रीय साझेदारहरूसँग सहकार्य गर्ने योजना सार्वजनिक गरेका थिए ।
यसप्रति प्रतिक्रिया दिँदै घरिबाबादीले होर्मुजको सुरक्षा तटीय राष्ट्रहरूको साझा जिम्मेवारी भएको उल्लेख गरे । उनले बाह्य शक्तिहरूले कुनै पनि प्रकारको सैन्य हस्तक्षेप वा दुस्साहस गरे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी उनीहरू स्वयंले लिनुपर्ने चेतावनी दिएका छन् । उनले यसलाई ‘गम्भीर चेतावनी’को संज्ञा दिएका छन् ।
यसअघि ब्लुमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै केही प्रमुख युरोपेली मुलुकहरू होर्मुज स्ट्रेटबाट सुरक्षित रूपमा जहाज सञ्चालन गर्न इरान र ओमानलाई शुल्क तिर्ने विषयमा सहमत भएको जनाएको थियो । यद्यपि, त्यसो सम्बन्धित पक्षहरूले औपचारिक पुष्टि गरेका छैनन् ।
होर्मुज स्ट्रेट विश्वकै सबैभन्दा रणनीतिक समुद्री मार्गमध्ये एक मानिन्छ । मध्यपूर्वबाट विश्व बजारमा जाने ठूलो परिमाणको कच्चा तेल र ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा सुरक्षामाथि समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।



















