‘इरान अमेरिकासँग सम्झौता गर्न अत्यन्त इच्छुक छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार ०६:५९

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अहिले अमेरिकासँग सम्झौता गर्न अत्यन्त इच्छुक रहेको दाबी गरेका छन् । इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह चलिरहेका बेला ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।

अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा माउन्ट रसमोरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले आफू नेतृत्वको अमेरिकाले विश्वका शत्रुमाथि निर्णायक सफलता हासिल गरेको दाबी गरे । उनले अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति भन्दै सेनाको भूमिकाको प्रशंसा पनि गरे ।

सम्बोधनका क्रममा ट्रम्पले भने, ‘हामीले संसारको सबैभन्दा बलियो सेना निर्माण गरेका छौँ । हामीले दुई विश्वयुद्ध र शीतयुद्ध जित्यौँ तथा अमेरिकाका शत्रुहरूलाई इतिहासको गर्तमा पुर्‍यायौँ ।’ उनले इरानको प्रसंग उठाउँदै अमेरिका र इजरायलको संयुक्त कारबाहीपछि इरान कमजोर अवस्थामा पुगेको दाबी गरे ।

‘हामीले भेनेजुएलालाई एकै दिनमा हरायौँ र इरानलाई नराम्रोसँग पराजित गर्‍यौँ । अहिले उनीहरू सम्झौताका लागि आतुर छन् । उनीहरू निकै हतास छन्,’ ट्रम्पले भने । ट्रम्पले थप दाबी गर्दै अमेरिकाले इरानलाई अली खामेनीको अन्त्येष्टि संस्कार सम्पन्न गर्न एक साताको समय दिइएको बताए । ‘हामीले उनीहरूलाई अन्त्येष्टि पूरा गर्न एक हप्ता दिएका छौँ । किनकि हामी असल छौँ,’ उनले भने ।

इरानमा पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोह जारी रहेका बेला आएको ट्रम्पको यो अभिव्यक्तिले अमेरिका–इरान सम्बन्धका बारेमा नयाँ बहस सुरु गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा अली खामेनी मारिएका थिए । अहिले इरानमा उनको अन्त्येष्टि समारोह सञ्चालन भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.