सेन्ट पिटर्सबर्गको रणनीतिक तेल टर्मिनलमा आक्रमण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार ०७:०६

एजेन्सी । युक्रेनले रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गस्थित एक प्रमुख तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति आफ्ना सेनाले रुसभित्रका रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेको पुष्टि गर्दै उक्त तेल टर्मिनल रुसले युद्ध सञ्चालनका लागि राजस्व संकलन गर्ने महत्वपूर्ण ऊर्जा पूर्वाधार रहेको बताएका छन् । जेलेन्स्कीका अनुसार आक्रमणको लक्ष्य तेल टर्मिनल मात्र नभई सेन्ट पिटर्सबर्ग क्षेत्रमै रहेको रुसको एक प्रमुख नौसैनिक अड्डा पनि थियो ।

युक्रेनले उक्त नौसेना अड्डामाथि पनि सफल आक्रमण गरिएको दाबी गरेको छ । सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्यान्डर बेग्लोभले सहरमा ठूलो परिमाणमा ड्रोन आक्रमण भएको स्वीकार गरेका छन् । उनले तेल टर्मिनलमा क्षति पुगेको पुष्टि गरे पनि घटनामा कुनै मानवीय क्षति नभएको दाबी गरे ।

पछिल्लो समय युक्रेनले रुसका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ । यस्ता आक्रमणका कारण रुसको इन्धन आपूर्तिमा दबाब बढ्दै गएको छ ।

युक्रेनले आफ्नो आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको करिब ४३ प्रतिशत प्रभावित वा नष्ट भएको दाबी गरेको छ । यद्यपि, यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

यसैबीच, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता युक्रेनी आक्रमणका कारण देशमा इन्धन अभावको समस्या देखिएको स्वीकार गरेका थिए । त्यसको निराकरणका लागि उनले शनिबार घरेलु बजारमा इन्धन आपूर्ति बढाउने उद्देश्यसहितको विधेयक अनुमोदन गरेका छन् ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीचको युद्ध अझै जारी छ । युद्धका क्रममा दुवै पक्षले एकअर्काका ऊर्जा, सैन्य तथा रणनीतिक पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् । आक्रमणले द्वन्द्वलाई थप जटिल बनाउँदै लगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.