
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने धम्की आएको छ । आगामी अष्ट्रेलिया भ्रमणअघि उनलाई लक्षित गर्दै ज्यान मार्ने धम्की आएपछि भारत र अष्ट्रेलिया दुवै देशका सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् ।
मोदी आगामी जुलाई ९ मा अष्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम रहेको छ । भ्रमणकै क्रममा मेलबर्नमा आयोजना हुने ‘मेलबर्न मिट्स मोदी’ कार्यक्रममा सहभागी हुने तयारी भइरहेका बेला सामाजिक सञ्जालमार्फत उनको हत्या गर्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
धम्कीपछि अष्ट्रेलियाली प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा फेसबुकमा धम्कीपूर्ण टिप्पणी गर्ने व्यक्तिको आईपी ठेगाना पत्ता लगाइएको बताइएको छ ।
अष्ट्रेलियाली सञ्चारमाध्यम द अष्ट्रेलिया टुडे का अनुसार अनुसन्धानकर्ताहरूले टिप्पणी गर्ने व्यक्तिको वास्तविक पहिचान, सम्भावित उद्देश्य तथा धम्कीको विश्वसनीयताका बारेमा विस्तृत अनुसन्धान गरिरहेका छन् । घटनापछि मोदीको भ्रमणलाई लक्षित सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ ।
मोदीको सुरक्षालाई लिएर भारतीय र अष्ट्रेलियाली सुरक्षा निकायबीच पनि आवश्यक समन्वय भइरहेको छ । यस घटनाले उच्चस्तरीय भ्रमणको सुरक्षाप्रति थप संवेदनशीलता बढाएको छ । दुवै देशका सुरक्षा अधिकारीहरूले कुनै पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइरहेका छन् ।



















