
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीले एक जना महिलाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । घाइते हुनेमा पनि पाँच जना महिला छन् । निरन्तरको वर्षापछि धुलाखोला र आसपासका खहरेमा आएको हिलोमिश्रित बाढी गाउँमा पसेर मानवीय क्षति भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहानका राति करिब ३ बजेतिर बाढी गाउँमा पसेको थियो । बाढीमा परी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन् । स्थानीय र सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
घटनामा गैरीगाउँकै अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन् । पाँच जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ ।
स्थानीयका अनुसार बाढीको तीव्र बहावले मानिसहरूलाई करिब १५ देखि १६ मिटर टाढासम्म बगाएको थियो । अधिकांश घाइतेको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीयसँग समन्वय गरेर उद्धार सुरु गरेको थियो । । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार प्रभावित क्षेत्रमा उद्धार तीव्र पारेर क्षतिको विवरण संकलन सुरु गरिएको छ । बाढीबाट घर, संरचना तथा अन्य सम्पत्तिमा भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको ढकालले बताइन् ।
निरन्तर वर्षासँगै पहाडी जिल्लाहरूमा बाढी र पहिरोको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले नदी, खोला तथा खहरे आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

























