
काठमाडौं । जापानमा रहेका नेपालीको मृत्युका घटना बढ्दो चिन्ताको विषय बनेको छ । पछिल्लो १० महिनामा ७२ नेपालीले ज्यान गुमाएका छन् । तीमध्ये २८ जना विद्यार्थीले आत्महत्या गरेको परराष्ट्र मन्त्रालयको तथ्यांकले देखाएको छ ।
गत साउनदेखि असार तेस्रो सातासम्मको अवधिमा भएका अधिकांश मृत्युको कारण स्पष्ट खुल्न नसकेको मन्त्रालयले जनाएको छ । जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार मृत्युका घटना बढ्दै जाँदा शव व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ । कतिपय परिवारले जापानमै अन्त्येष्टि गर्ने र दूतावासलाई जानकारीसमेत नदिने गरेका कारण अभिलेख व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए ।
जापानबाट नेपाल शव ल्याउन करिब १२ लाख रुपैयाँ खर्च लाग्ने भएकाले धेरै परिवार आर्थिक समस्यामा पर्ने गरेका छन् । विद्यार्थी भिसामा गएका नेपालीको शव नेपाल पठाउने खर्च शैक्षिक संस्थाले नबेहोर्ने र उनीहरू वैदेशिक रोजगारको श्रम स्वीकृतिमा नपरेकाले सरकारी राहतसमेत पाउन कठिन हुने अवस्था रहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अनुसार उच्च ब्याजमा ऋण लिएर जापान पुगेका धेरै विद्यार्थी आर्थिक र मानसिक दबाबमा छन् । कोठाभाडा, खानपिन र कलेज शुल्क महँगो हुँदा कानुनले तोकेको २८ घण्टाको कामबाट मात्रै खर्च धान्न नसकिने अवस्था छ । नेपालमा रहेको ऋण तिर्नुपर्ने दबाब, भाषागत कठिनाइ र भविष्यको अनिश्चितताले विद्यार्थीहरू थप तनावमा पर्ने गरेका छन् ।
विद्यार्थी उमा खत्रीका अनुसार जापानी भाषामा राम्रो दक्षता बिना जापानको बसाइ निकै कठिन हुन्छ । पढाइ, काम र अनिवार्य ८० प्रतिशत कक्षा उपस्थितिलाई सन्तुलनमा राख्न नसक्दा धेरै विद्यार्थी समस्यामा पर्ने गरेका छन् ।
जापान सरकारको तथ्यांकअनुसार हाल त्यहाँ ३ लाख ९ सय ९२ नेपाली बसोबास गरिरहेका छन् । विद्यार्थी भिसामा मात्रै १ लाख १६ हजार नेपाली रहेका छन् । जुन चीनपछि दोस्रो ठूलो संख्या हो ।
नेपाली दूतावासले व्यक्तिगत श्रम स्वीकृतिमा जाने र विद्यार्थी भिसामा रहेका नेपालीको अभिलेख व्यवस्थित नहुँदा समस्या समाधानमा कठिनाइ भएको जनाएको छ । बढ्दो मृत्यु र आत्महत्याका घटनाले नेपाली विद्यार्थीका लागि मानसिक स्वास्थ्य सहायता, सुरक्षित वैदेशिक अध्ययन र प्रभावकारी सरकारी संयन्त्रको आवश्यकता झन् स्पष्ट बनाएको छ ।

























