
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पदभार सम्हालेयता पहिलो पटक विदेशी उच्च अधिकारीसँग औपचारिक भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको हो ।
पदभार ग्रहण गरेयता प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञ तथा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगर्ने नीति अपनाउँदै आएका थिए । एडीबी अध्यक्षसँगको भेटलाई उक्त नीतिमा आएको पहिलो परिवर्तनका रूपमा हेरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अध्यक्ष कान्डाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्ले तथा अन्य सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन् । मंगलबार प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
कान्डासहित एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरू पनि नेपाल आउनेछन् । प्रतिनिधिमण्डलमा दक्षिण, मध्य तथा पश्चिम एसियाका लागि बैंककी उपाध्यक्ष सोना श्रेष्ठ पनि सहभागी रहने छिन् ।
भ्रमणका क्रममा नेपाल सरकार र एसियाली विकास बैंकबीच दुई महत्वपूर्ण आर्थिक सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । पहिलो सम्झौता पाँच करोड अमेरिकी डलर बराबरको नीतिगत ऋणसम्बन्धी हुनेछ । यसबाट भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरण तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस्तै, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको अर्को सम्झौतामा पनि हस्ताक्षर हुने सम्भावना छ । यस आयोजनामार्फत जलवायु अनुकूल खानेपानी सेवा विस्तार, सहरी सरसफाइ सुधार तथा ढल, फोहोरमैला र लेदो व्यवस्थापन प्रणाली सुदृढ गर्ने लक्ष्य राखिएको छ ।
प्रधानमन्त्री शाहले यसअघि विदेशी उच्च अधिकारीसँग व्यक्तिगत भेट नगर्ने अडान लिएका थिए । त्यसयता उनले व्यक्तिगत भेटभन्दा सामूहिक कूटनीतिक संवादलाई प्राथमिकता दिँदै आएका छन् ।

























