
काठमाडौं । पन्छीमा फैलिएकाे घातक ‘बर्डफ्लु’ ७ वटा जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ । पशुसेवा विभागका अनुसार देशका विभिन्न ११ जिल्लामा फैलिएको थियाे ।
जसमध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने यो रोग अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
विभागले यी चार जिल्लालाई अझै पनि निगरानीमा राखेको छ । रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको थियो । उक्त टोलीले सङ्क्रमित क्षेत्रका पन्छी, अण्डा, दाना तथा पन्छीजन्य अन्य सामग्रीहरू नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिए ।



















