
इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला (राजदुवाली) क्षेत्रमा सडकको ठूलो भाग भासिएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा तथा तराईसँग जोड्ने मुख्य मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
निरन्तरको वर्षा, कमजोर भू–बनोट तथा जमिनभित्रको अस्थिरताका कारण सडक बगेपछि बिहीबार बिहानदेखि यातायात सेवा ठप्प बनेको हो । राजमार्ग बन्द भएसँगै यात्रुवाहक र मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । आकस्मिक उपचारका लागि तराई लैजानुपर्ने बिरामीलाई स्ट्रेचरमा बोकेर जोखिमपूर्ण बाटो पार गराउनुपर्ने अवस्था सिर्जना भएको छ । सयौँ यात्रु हिलो र पहिरोयुक्त मार्ग पैदल पार गर्न बाध्य भएका छन् ।
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद भएको हो । किसानदेखि बिरामी र पैदलयात्रीसम्मले सास्ती खेप्नु परिरहेको छ । दूध, तरकारीलगायत छिट्टै बिग्रिने कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसान तथा व्यवसायीले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ । वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न खोजिएको मेची करिडोर सडक पनि पुवाखोलामा पुलको अभाव र हिलोका कारण प्रभावकारी हुन सकेको छैन ।
स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडकखण्डबाट साना सवारी साधनलाई सीमित रूपमा सञ्चालन गरिए पनि ठूला बस तथा ट्रकको आवागमन पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन कार्यालय इलामले स्काभेटर र जनशक्ति परिचालन गरेर सडक खुलाउने प्रयास गरिरहेको छ । तर, सडकको ठूलो भाग खोलातर्फ खसेकाले ग्याबियन पर्खालसहित नयाँ ट्र्याक निर्माण नगरी दीर्घकालीन समाधान सम्भव नदेखिएको कार्यालयको भनाइ छ ।

























