फाइल फाेटाेविराटनगर । सुनसरी र झापामा भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–७ केराबारीमा बिहीबार राति मधेश प्रदेश ०१–००५ प ८३६० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । तीन जना सवार मोटरसाइकल राति ११ः१० बजेतिर जाली लगाउनका लागि सडकको उत्तरतर्फ थोपरेर राखिएको ढुंगामा ठोक्किँदा चालक सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१४ का २१ वर्षीय शिवानन्दन यादवको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पुर्याउनसाथ चिकित्सकल मृत घोषणा गरिदिएका हुन् । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार हनुमाननगर–कंकालिनी–१४ का २१ वर्षीय शेखर मण्डल र १९ वर्षीय रविन यादव घायते भएको जानकारी डीएसपी खड्काले दिए ।
गम्भीर घाइते दुवै जनाको विराटनगरस्थित न्यूरो अस्पतालमै उपचार भइरहेको छ । तीनै जना घाइतेहरुलाई उद्धार गरेर सुरुमा प्रहरीले उपचारका लागि सुनसरीकै सप्तकोशी न्यूरो अस्पताल भोक्राहा पुर्याएको थियो । त्यहाँ सम्भव नभएपछि सबै जनालाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ट्राफिक नियम उल्लंघन गरेर तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, झापाको कमल गाउँपालिका–२ छलफल चोकस्थित भित्री सडक खण्डमा मे ११ प १६१८ नम्बरको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केर्खाबाट समयगडतर्फ जाँदै गरेको स्कुटर बिहीबार साँझ ६ः४० बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा स्कुटरको पछाडि सवार धादिङको थाक्रे गाउँपालिका–११ घर भई झापाको कमद–६ मा बस्दै आएका ३० वर्षीय राजन तामाङको मृत्यु भएको हो । गम्भीर घाइते तामाङलाई उपचारका लागि दमकको निम्स अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा स्कुटर चालक इलामको माई नगरपालिका–१ घर भई झापाको दमक नगरपालिका–५ मा बस्दै आएका १९ वर्षीय राजन महत गम्भीर घाइते भएका छन् । निम्स अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको छ ।
स्कुटरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























