
विराटनगर । मोरङको बेलबारीमा शौचालय जाने क्रममा लडेर शुक्रबार बिहान एक जना वृद्धाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–२ लालभित्तीकी ७१ वर्षीया सरस्वती गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको शौचालय जाने क्रममा वृद्धा बिहान ४ बजेतिर लडेर गम्भीर घाइते भएको पाइएको छ ।
निधारमा गहिरो चोट लागेर अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । उपचार सुरु भएको केही बेरमै गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव हाल नोबेल अस्पतालमै छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























