
काठमाडाैं । सर्लाहीको गोडैता नगरपालिका–१० का ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । घटनामा गम्भीर घाइते भएका उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मण्डलको हेलिकप्टरबाट उद्दार गरी काठमाडाैं लगिएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै मण्डलको अवस्था नाजुक रहेको उल्लेख गरेका छन् । उनले घटनाबारे प्रधानमन्त्री, गृहमन्त्री तथा सम्बन्धित निकायलाई जानकारी गराइसकेको र घाइतेको शीघ्र उद्धार तथा उपचारको व्यवस्था गर्न आग्रह गरेको बताएका छन् ।
आत्मदाहको प्रयास गर्ने विवेक मण्डलका बुवा उपेन्द्र मण्डलले छोराको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले मण्डलमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी आएकाे बताए ।
बिहीबार काठमाडाैंमा नगरप्रहरीले माेटरसाइकलमा लक लगाइदिएपछि आत्मदह गरेका गणेश नेपालीकाे शुक्रबार निधन भएकाे थियाे ।

























