विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ०६:४२

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (शनिबार) अधिकांश स्थानमा बदलीसँगै भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेकाले वर्षा गराउने प्रणाली थप प्रभावकारी बनेको हो । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानका साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित वर्षा जारी रहने सम्भावना छ । गण्डकी, लुम्बिनी तथा कोशीका पहाडी भू–भागसहित गण्डकी र लुम्बिनीका तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.